Thursday, March 3, 2011

फिल्ममा जीवन हार्नेहरू

कुनै समय तातोपानी भन्सारमा धेरै राजस्व तिर्नेमध्येमा पर्थे बाह्रबिसेका व्यापारी केदार श्रेष्ठ। खासा-काठमाडौं व्यापारबाट सम्पन्नतातिर उक्लिँदै गरेको केदार र छिटिङ शेर्पा दम्पतीका अगाडि एक दिन गगन विरही टुप्लुकिएर नेपाली सिने बजारको बेलिबिस्तार लगाए। तर, निर्देशक विरहीले प्रस्ताव गरेको चलचित्र सङ्कल्प को आर्थिक लगानी नै एक दिन केदारको मृत्युको कारण बन्छ भनेर सपनामा पनि नसोचेको छिटिङ बताउँछिन्।
विरहीले रु.२८ लाखमा निर्माण पूरा गरिदिन्छु भनेर थालेको सङ्कल्प मा रु.५२ लाख लगानी भयो। यसरी तनावमा परेका केदार चलचित्र प्रदर्शनपछि रु.१५ लाख पनि नउठ्दा अझ् हतास भए। घरमा साहूहरूको धर्ना शुरु भइसकेको थियो। त्यसबाट मुक्त हुन उनले आमा र आफ्नो नाममा रहेको जग्गा बेच्न गरेको प्रयास बाबुको हस्तक्षेपबाट रोकिएपछि ३३ वर्षकै उमेरमा नौ वर्षकी छोरी र श्रीमतीलाई छोडेर आत्महत्या गरे।
त्यतिवेला बाबु (ससुरा) ले जग्गा बेच्न दिएको भए केदारले जीवित रहेर अझ्ै धेरै कमाउने थिए भन्ने श्रीमती छिटिङ शेर्पा-श्रेष्ठको भनाइ नपत्याउन मुश्किल पर्छ। श्रीमान बितेको १७ वर्षमा ससुराले संरक्षणको साटो निरन्तर मानसिक यातना, गालीबेइज्जती र धम्की दिएको बताउने उनी भन्छिन्, “फिल्मकै कारण मेरो जीवन कहालीलाग्दो भयो।”

घातक आकर्षण

एक दशकदेखि बेपत्ता निर्माता नसिवध्वज शाह नायक शिव श्रेष्ठ र नायिका पूजा चन्दका साथ (बायाँ)।
नाम, दाम र मोजमस्तीको दुनियाँ भनिने चलचित्र क्षेत्रमा ऋण लागेर घरखेत डुबाउनेहरूको भीडबाट सधैँका लागि भाग्ने केदार श्रेष्ठ जस्तै मोहन वैद्यलाई २ कात्तिक २०५० मा प्रहरीले काठमाडौंको पुरानो बसपार्क नजिकै विष पिएर ढलेको अवस्थामा फेला पारेको थियो। चलचित्र रक्षा मा रु.१७ लाख ऋणमा डुबेका वैद्यले नेवारी चलचित्र शिलु मा पनि अप्रत्यक्ष रूपमा लगानी गरेको बताइन्छ। कालीमाटी टङ्केश्वरस्थित उनको घरमा साहूहरूको भीड लाग्न थालेपछि तनावबाट बच्न उनले त्यस्तो अप्रिय निर्णय गरेको रक्षा का वितरक रहेका अहिलेका निर्माता मदन ताम्राकार बताउँछन्।
चलचित्र बनाउँदा लागेको ऋणबाट मुक्त हुन आत्महत्याको बाटो रोज्ने पहिलो निर्माता चाहिँ नवीन केसी थिए। २०२१ सालमै कहीं दियो कहीं बत्ती नामक चलचित्र बनाउन थालेका नवीनलाई भारतबाट आएका निर्देशक र प्राविधिकहरूले डुबाएको बताइन्छ। उनीहरूको माग पूरा गर्दै चलचित्र छायाङ्कन गर्ने क्रममा नवीनले डिल्लीबजारको घर बन्धक राखेका थिए। तर, भारतीय निर्देशक प्राण नाथ र उनको टोली बीचैमा फिल्म छाडेर बम्बई फर्किएपछि नवीनसँग ऋण मात्र बाँकी रह्यो। उनका भतिज तथा कलाकार रवि खड्का भन्छन्, “उहाँले साहूहरूको कचकच खेपेरै पनि फिल्म पूरा गर्न धेरै वर्ष प्रयास गर्नुभयो तर केही नलागेपछि २०४५ मा झ्ुण्डिएर आत्महत्या गर्नुभयो।
कहीं दियो कहीं बत्ती को छायाङ्कन रोकिएको तीनदशकपछि बनेको अंशबण्डा का निर्माता शालिकराम रानाले पनि चलचित्रमा लगानीकै कारण आत्महत्या गरेको गाईंगुईं काठमाडौंको बजारमा चलेको थियो। यद्यपि, फिल्म डुबेपछि थलिएका रानाको लामो बिरामीबाट स्वाभाविक मृत्यु भएको उनका आफन्तहरू बताउँछन्। उता ससुरालीको घर ब्याङ्कमा राखेर चलचित्र ईश्वर बनाउन थालेका निर्माता/निर्देशक नसिबध्वज शाह सो चलचित्रलाई अधुरै छोडेर एक दशकदेखि बेपत्ता छन्। उनले आधा नहुँदै छोडेको चलचित्र ईश्वर अर्का निर्माता टङ्क लम्सालले पूरा गरेका थिए। चलचित्र लगानी डुबेपछि बेपत्ता भएका चलचित्र देश परदेश का निर्माता कर्मा थोन्डुप शेर्पा भने लामो समयपछि दक्षिणकाली नजिकैको एउटा गुम्बाका भेटिएका थिए।
श्याम सापकोटा पनि कुनै समयमा नाम, दाम र मस्तीको घातक आकर्षणमै परेर नेपाली सिने संसारमा आएका थिए। तर, उनले चलचित्र बलिदान मा गरेको लगानी डुबेपछि मह जोडी लगायतका कलाकारहरूलाई श्याम बचाऊ अभियान नै चलाउनु परेको थियो।

कसरी डुब्छ लगानी?

“सङ्कल्प फिल्म कै कारण मेरो जीवन कहालीलाग्दो भयो।”
छिटिङ शेर्पा श्रेष्ठ
चलचित्रको दुनियाँमा नाम, दाम र मस्ती मार्न लालायित अनुभवहीन निर्देशकहरू सधैँ मुर्गा फसाउने ध्याउन्नमा हुन्छन्। निर्माता पनि उनीहरू जस्तै अनुभवहीन र बजारको ज्ञान नभएका परे भने त्यस्ता चलचित्रले हलको मुखै देख्न पाउँदैन र पायो भने पनि कसैलाई उठाउँदैन।
नाम चलेकै निर्देशकहरूले पनि सधैँ काम पाइरहेका हुँदैनन्। त्यो अवस्थामा कुनै मुर्गा फेला पर्‍यो भने उनीहरू कम बजेटमै सुपरहिट चलचित्र बनाइदिने भन्दै आकास-पाताल छोड्छन्। छायाङ्कन शुरु भएपछि मात्र उनीहरूको असली रङ देखिन थाल्छ। निर्माता भने निल्नु न कल्नुको अवस्थामा पुग्छन्। निर्मातासँग आफूलाई बेचेर भए पनि फिल्म पूरा गर्नुको विकल्प रहँदैन। यसरी पूरा भएको फिल्मले हलमा खुट्टा टेकिदिएन भने लड्ने निर्माता नै हुन्छ।
फिल्म नबुझ्ेका निर्माताहरू बन्द-हडताल र प्रतिकूल मौसम जस्ता कारणले छायाङ्कन प्रभावित हुँदा पनि ठूलै खर्चमा डुब्दै जान्छन्। निर्माता चिरञ्जीवी बस्नेत भन्छन्, “तरुनी घुमाएको र जाँडमा उडाएको बिलसमेत फिल्मकै बजेटमा जोड्ने निर्देशकहरू फिल्म नसकिँदै निर्मातालाई मर्नु न बाँच्नु बनाइसक्छन्।”
आश्चर्यको कुरा, करिब ९५ प्रतिशत नेपाली चलचित्रले लगानी डुबाइरहेका वेला पनि नयाँ निर्माताको खाँचो परेको छैन। निर्माता संघका अध्यक्ष राजकुमार राई भन्छन्, “होहोरेमा लगानी गर्न नतम्सिउँ, नत्र आत्महत्याकै स्थिति नआए पनि दिमाग खुस्किने अवस्थाको सामना गर्नुपर्ने हुनसक्छ।”

मैले आफूलाई सम्हालें


श्याम सापकोटा, निर्माता, बलिदान

२०४६ सालको जनआन्दोलनको पृष्ठभूमिमा चलचित्र बलिदान बनाउन लाग्दा शुरु बजेट रु.३९ लाख थियो। कलङ्कीको घरजग्गा रु.२० लाखमा वाणिज्य ब्याङ्कमा राखेर काम शुरु गरेँ। निर्देशक तुलसी घिमिरे थिए। तर, चलचित्र सकुञ्जेलसम्ममा रु.६५ लाख खर्च भयो। फिल्म हलमा पुग्दा त्यो रकम पनि ब्याजसहित ठ्याक्कै रु.८० लाख पुग्यो।
फिल्म धेरै चल्यो तर, रु.६० लाखभन्दा बढी मेरो हातमा परेन। रु.२५ लाख सुटिङ खर्च ३६ प्रतिशत ब्याजमा ऋण लिएर तिरेँ। ब्याङ्कले १५ वर्षमा तेस्रो पटक घर लिलामीको सूचना निकालेपछि अर्को ब्याङ्कबाट ऋण लिएर गत वर्ष तिरेँ। पछिल्लो ऋण बाँकी नै छ। म फिल्म डुबेपछि कलाकार हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, रामेश, नीर शाह र नीलकाजी शाक्यले श्याम सापकोटा आत्महत्या गर्ने सातौं निर्माता हुनेभयो, बचाउनुपर्छ भनेर अभियानै चलाउनुभयो। मह जोडीले त फिल्मको पारिश्रमिक पनि लिनुभएन।
हिरोइन घुमाउन, मोजमस्ती गर्न र एउटा फिल्म बनाएपछि अरू निर्माता फसाउन पाइन्छ भनेर चलचित्रमा लगानी गर्नेहरू पनि छन्। तर, म सबैलाई यसो नगरौं भन्छु। ठूलाठूला सपना देखाएर निर्मातालाई मुर्गा बनाउने काम पनि रोकिनुपर्छ।
ऋषिराम कट्टेल
 हिमाल खबरपत्रिका

No comments:

Post a Comment