अब नेपाली गीत आधिकारिक रूपमै पेनड्राइभ र मेमोरी कार्डबाट सुन्न पाइने भएको छ। म्युजिक नेपाल र नेपाल संगीत उद्योग संघले संयुक्त रूपमा यसको व्यवस्था गर्न लागेको हो। सोमबार पिंगलास्थानस्थित नेपाल म्युजिक सेन्टरमा आयोजित कार्यक्रममा यो प्रविधिको उद्घाटन माओवादी उपाध्यक्ष बाबुराम भट्टराईले गरेका हुन्।
तोकिएको शुल्क तिरेपछि श्रोताले कम्तीमा ५० गीत भरिएको पेनड्राइभ र मेमोरी कार्ड पाउनेछन्। अहिलेलाई यसमा नेपाली लोक र आधुनिक गीत समावेश गरिएको छ। २ जीबी क्षमताको पेनड्राइभ र मेमोरी कार्डमा धेरैभन्दा धेरै कलाकारका गीत समेटिनेछ।
बिक्रीबाट गीतका सर्जकहरूलाई १५ प्रतिशत रोयल्टी दिइने म्युजिक नेपालका सञ्चालक सन्तोष शर्माले बताए। 'सीडी र क्यासेट बिक्री हुनै छाडेपछि यो प्रविधि अपनाएका हौं,' शर्माले भने। कानुनी रूपमा सरकारले सहयोग गरे यो प्रविधि सफल हुने उनको दावी छ।
गीतसहितको पेनड्राइभको मूल्य ८ सय ७५ र मेमोरीकार्डको ६ सय ७५ रुपैयाँ राखिएको छ। काठमाडौंबाट सुरु गरिने यो प्रविधिमा भाइरसले असर नगर्ने व्यवस्था मिलाइएको छ।
कार्यक्रममा बाबुराम भट्टराईले नेपाली स्रष्टाहरूलाई सहयोग गर्न नयाँ नयाँ प्रविधि अपनाउनु पर्ने बताए। कालीप्रसाद रिजाल, रामकृष्ण ढकाल, श्रीपुरूष ढकाल, शम्भुजित बास्कोटा र भगवान श्रेष्ठले पनि आफ्ना मन्तव्य राखेका थिए।
नागरिक
Thursday, March 3, 2011
Subscribe to:
Post Comments (Atom)


No comments:
Post a Comment