Showing posts with label Interview. Show all posts
Showing posts with label Interview. Show all posts

Saturday, April 30, 2011

मैले विवाहका लागि उपयुक्त साथी पाएँ

डेरीको दूध पाइन्छ भने गाई किन पाल्ने भन्ने तपाईं अबचाहिँ गाई नै पाल्ने मुडमा पुग्नुभयो होइन ? 

खै यो कुरा कहाँबाट निस्कियो थाहा छैन, मैले विवाहलाई कहिल्यै त्यसरी हेरेको छैन, किनभने विवाह भनेको एउटै कुरामा मात्र केन्दि्रत छैन अर्थात विवाह दूध खान मात्र गर्ने कुरा होइन, गाई पाल्नेले पनि दूधकै मात्र आशा राख्छन भन्ने पनि होइन, गाईवस्तुप्रतिको लगाव, प्रेम र खाँचो महसुस गरेर पाल्नेहरू पनि छन्, दूध दिन छोडे पनि गाइ पालेकै छन् त।

विवाहको विपरीत सोच राख्ने तपाईंले यसको आवश्यकता कसरी महसुस भयो नि ?


विवाहका बारेमा मेरो आफ्नै दृष्टिकोण भए पनि म नितान्त रूपमा विपरित लिंगीसँग सम्बन्धै नभएको पुरुष भने होइन, जीवनको अहिलेसम्मको यात्रामा महिलाहरू मेरा अभिन्न मित्रका रूपमा आएका छन्। हाम्रो जुन किसिमको सामाजिक अवधारणा छ म त्योभन्दा पृथक् मानिस होइन, मेरो जीवनमा महिलाहरूसँगका विभिन्न सम्बन्ध भए। जहाँसम्म प्रेमको कुरा छ, थुप्रैसँग लामो र छोटो किसिमका रिलेसनसिप भए, तर विवाह सम्झौता हो भन्ने दृष्टिकोणका कारण मैले त्यसतर्फ ध्यान दिइन्, तर अहिले आवश्यकता महसुस भयो।



अहिलेसम्म राजेश हमालको जीवनमा कति गर्लफ्रेन्ड आए त ?


मेरो जीवनमा धेरै कारणले धेरै महिला आए, किटान गरेर हिसाब किताब निकाल्ने कुरा आएन, सबैसँग प्रेम वा रिलेसनसिप नै थियो भन्ने पनि छैन। २० र ३० को दशकमा टुरिस्ट गर्लफ्रेन्ड धेरै थिए, उनीहरू ५ दिनका लागि नेपालका आएका हुन्थे, त्यसैले त्यस्तो सम्बन्ध छोटो समयका लागि थियो, केही रिलेसनसिप अलिक लामो पनि रह्यो। जीवनमा धेरै गर्लफ्रेन्डका रूपमा आए भनेर भन्न म लाज मान्दिनँ, यसलाई म सकारात्मक रूपमै लिन्छु। केटी साथीहरूसँगको सम्बन्धले मेरो जीवनमा थप ऊर्जा मिल्यो। उमेर अनुसार जीवन जिउने मेरो आफनै शैली थियो। महिलाहरूसँगको सम्बन्धबाट मैले जीवन जीउने कला सिकें, जीवनका थुप्रै रंग बुझ्न सहयोग पुग्यो। संख्यात्मक रुपमा कति आए भनेर म भन्न सक्दिनँ तर लामो रिलेसनसिप ६ जनासँग चल्यो। 


राजेश हमालका यति धेरै अफेयर किन चर्चामा आएनन् त ?


आएका छन् नि, मेरो कलेजकालीन अफेयर प्रायः सबैलाई थाहा छ, त्यस्तै केही सम्बन्धहरूका बारेमा पत्रपत्रिकामा समाचार छापिएका थिए। रिलेसनसिपलाई लुकाउनुपर्छ भन्ने मान्यता मेरो छैन, तर मेरा सबै लामा रिलेसनसिप विदेशी महिलाहरूसँगै भएकाले यस विषयमा कोही जानकार रहे, कोही रहेनन्। म ती सबै रिलेसनसिपलाई अमूल्य मान्छु, ती सबै सम्बन्ध मेरा लागि धेरै महत्वपूर्ण रहे। त्यो सम्बन्धलाई विकास गर्ने महिलाहरूको म कदर गर्छु। उहाँहरूप्रति मेरो रेस्पेक्ट छ।


अहिलेसम्म जीवन रिलेसनसिपमै चलिरहेको छ, अब पनि किन विवाह गर्नुपर्‍यो नि ?


जीवन भनेको म्याराथुन रेस होइन, एउटै ट्रयाकमा कुद्नपर्ने, जीवन विभिन्न ट्रयाकमा दौडिन्छ। उमेर, सोचाइ, बुझाइअनुसार व्यावहारिक रूपमा जीवन चल्छ, उमेर अनुसार जीवन भोग्न जान्नुपर्छ, त्यसैले अहिले सम्मको मेरो जीवन मेरा लागि निरस रहेन, जुन प्रकारको जीवन मैले विगतमा भोगे त्यो गर्व गर्न लायक छ। रहयो अबको जीवनको कुरा, त्यसलाई पनि म निरस बनाउन चाहन्नँ। ३० को दशकको जीवन र ६० को दशकको जीवनमा धेरै फरक छ। विगतको अनुभवले मलाई अझ परिपक्व बनाएको छ। विवाह गरेर अघि बढ्न र निर्णय लिन मलाई उमेरले नै सिकाएको हो।


कुनै नेपालीसँग लामो रिलेसनसिपचाहिँ रहेन ?


मैले माथि उल्लेख गरेका पाँच-छवटा रिलेसनसिप सबै विदेशीसँगै थिए, तर अहिले मैले जसलाई जीवनसाथी बनाउँदै छु, उनी नेपाली नै हुन्, त्यसैले नेपालीसँग पनि लामो रिलेसनसिप रहने भयो नि ...


छोटो प्रकारको सम्बन्ध धेरैसँग रहयो भन्नुभयो, त्यसमा त नेपाली महिला पनि थिए होलान् नि ?


आफ्नो उमेरको २० र ३० को दशकमा मेरो सम्बन्ध अक्सर विदेशीहरूसँग थियो, टुरिस्टहरू मेरा गर्लफ्रेन्ड थिए। म नेपाली गर्लफ्रेन्ड थिएनन् भन्दिनँ, तर धेरै कम थिए। आदर्श साथीका रूपमा पनि नेपाली महिला साथी थिए, डिप रिलेसनसिप कम नै थियो।


यो प्रेमको सुरुवात कसरी भयो नि ?


यस विषयमा अहिले धेरै कुरा नगरौं। एउटा गेट टुगेदरमा उनीसँग भेट भयो। भेटकै क्रममा उनलाई मैले आफ्नो टाइप र नेचरसँग मिल्ने खालको पाएँ। उनी मेरा लागि फिट थिइन्। म उनीप्रति पनि आकषिर्त हुँदै गए। हामी दुवैको मन मिल्यो। हामीबीच समझदारी र प्रेमकै कारण सम्बन्धले स्थान पायो। उनको समर्पित प्रेमका कारण पनि म उनीप्रति आकषिर्त भएको हुँ।


उमेरको ठूलो ग्याप हुँदैन र ?


हो, उमेरमा ग्याप छ, तर वर्षले ग्याप भए पनि एकअर्काको भावना बुझ्नका लागि उमेरले खासै महत्व राखेको छैन। हामीबीचको सम्बन्धले त्यो ग्यापको अनुभूति गराएको छैन, तर पनि ग्यापका कारण हतारिएर विवाह गरेर भोली कुनै किसिमको समस्या नआओस भन्ने मेरो चाहना हो।


विवाहको प्रस्ताव कसले राख्यो त ?


विवाहको प्रस्ताव कसले राख्ने भन्ने प्रसङ्गै आएन, हाम्रो प्रेम म्युचुअल अन्डरस्ट्यान्डिङमै भयो। यो उमेरमा आइपुगेर विवाहको प्रस्ताव राख्ने कुरा पनि आएन, सम्बन्ध नजिकिँदै जाँदा धेरै कुरा मिल्न गएकाले पनि हामी विवाहको बाटोतर्फ अघि बढेका हौं। माया गाढा हुँदँ गएपछि हामी सँगै जीवन चलाउन सकिन्छ कि भन्ने अभ्यासमा छौं।


परिपक्व हुन नसकेको प्रेम भन्नुभयो, अझ प्रस्ट्याइदिनुस् न ?


हेर्नुस्, दही जम्न जम्न लागेको बेला हल्लाइदियो भने त्यो नजम्न पनि सक्छ। दही जमिसकेको छैन, तर बन्ने प्रक्रियामा लागिसकेको छ। त्यसैले विवाह हुने प्रक्रियामा छ, समय आएपछि यसको औपचारिक घोषणा गर्नेछु, त्यसकै लागि मैले आफ्नो रिलेसनसिपलाई पि्र-म्याचोर्ड भनेको।


उहाँसँगको प्रेममा तपाई पागल भैसकेजस्तो देखिन्छ नि ?


म त्यस्तो पागल प्रेम गर्ने व्यक्ति होइन, म प्रेमलाई प्राप्तिसँग पनि जोड्दिनँ। हामी दुवैले त्यो हिसाबको प्रेम गरेको होइन। म कसैलाई देख्नेबित्तिकै आकषिर्त भएर प्रेम गर्ने व्यक्ति पनि होइन। एक स्टेजसम्मको सामिप्यता भैसकेपछि उनका धेरै कुराले मलाई आकषिर्त गरेको भने हो, त्यसकारण पनि हामी दुवै सन्तुलित प्रेम गरिरहेका छौं।
मैले यसअघि जुन प्रकारको रिलेसन राखे, ती सम्बन्ध विवाहका निम्ति तयार थिएनन् भन्ने मेरो बुझाइ छ। अर्को कुरा मलाई आफू अचानक विवाहको मुडमा पुगेको पनि लाग्दैन, अब भने विवाह गर्नुपर्‍यो भनेर यो उमेरमा निर्णय गरेको भन्दा पनि अहिले आएर मेरा लागि सही व्यक्ति पाएँ, जसका कारण विवाह गर्ने निर्णय लिएँ भन्नुउपयुक्त हुन्छ । किनभने विवाहका लागि मुख्य कुरा जीवनसाथी सही हुनुपर्छ, अहिले जो मेरो जीवनमा छिन्, उनी मेरा लागि सही छिन्।

Saturday, April 9, 2011

'मेरो कदम राष्ट्रको हितमा थियो, तर जनतालाई बुझाउन सकिनँ'

पूर्वराजा ज्ञानेन्द्र शाहले सत्ता हातमा लिन १९ माघ ०६१ मा चालेको कदमको बचाउ गरेका छन् । देशको आवश्यकताअनुसार कदम चाले पनि त्यसको औचित्यबारे जनतालाई बुझाउन नसक्नु कमजोरी भएको उनले बताएका छन् ।
आफ्ना व्यावसायिक साझेदार प्रभाकरशमशेर राणाका नाति तथा सिद्धार्थशमशेर राणाका छोराको पास्नीमा भाग लिन शुक्रबार अपराह्न होटल सोल्टी पुगेका ज्ञानेन्द्रले केही पत्रकारसँग कुराकानी गरेका थिए । उनले आफ्नो सक्रिय कार्यकालमा आन्तरिक र बाह्य सहयोग नपाएको गुनासो पनि पोखे ।
सोल्टी होटलमा शुक्रबार दिउँसो एक बजे पुगेका उनी करिब दुई घन्टा बसेका थिए । लबेदा-सुरुवालमा आएका पूर्वराजाले भोजमा 'सफ्ट डि्रंक्स' र लञ्चसमेत गरेका थिए । उनीसँग पूर्वरानी कोमल पनि सहभागी थिइन् । भोजभर उनको अनुहार हँसिलो देखिएको थियो ।


स्रोतका अनुसार भोजमा पूर्वपुवराज पारस र पूर्वयुवराज्ञी हिमानीलाई पनि बोलाइएको थियो, तर उनीहरू त्यहाँ सहभागी भएनन् । तत्कालीन युवराज पारसलेे एभरेस्ट होटलको ग्यालेक्सी डिस्कोमा सिद्धार्थलाई कुटेपछि केही समयसम्म पूर्वराजासँग राणा परिवारको सम्बन्ध चिसिएको थियो, तर त्यसको केही समयपछि प्रभाकरशमशेर र पूर्वराजाको सम्बन्ध यथावत् भए पनि सिद्धार्थ र पारसको सम्बन्ध भने सुधि्रएको छैन ।
भोजमा राप्रपा अध्यक्ष पशुपतिशमशेर राणा, जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर थापा, जापानी राजदूत, चिनियाँ दूतावासका केही प्रतिनिधि र भारतीय दूतावासका कर्मचारीहरू पनि सहभागी थिए । राप्रपा अध्यक्ष राणा र पूर्वप्रधानमन्त्री थापासँग पनि उनले केहीबेर कुराकानी गरेका थिए । यसैगरी भोजमा पूर्वराजाका चारजना स्वकीय सचिव पशुपतिभक्त महर्जन, सागर तिल्सिना, डा. फणि पाठक र मधु तिल्सिना पनि सहभागी भएका थिए ।
भोजमा प्रभाकरशमशेरका नातेदार र केही पत्रकारलाई बोलाइएको थियो । पत्रकारहरू युवराज घिमिरे, मनोरञ्जन जोशी, माधव रिमाल, निरोधराज पाण्डे, देवेन्द्र गौतम, मञ्जुरत्त शाक्य, पुष्प प्रधान र केशव पौडेलले पूर्वराजासँग सवाल-जवाफ गरेका थिए ।

त्यहाँ भएको कुराकानीः

देशमा एक किसिमको अन्योल छ, भोलि के हुन्छ, पर्सि के हुन्छ भन्ने स्थिति छ, तपाईंले यसलाई कसरी हेर्नुभएको छ ? म पनि यो देशको नागरिक नै हुँ । त्यसकारण मेरो विचार, चिन्ता र चासो पनि आमनेपाली नागरिकको भन्दा फरक छैन । आमनागरिकहरूले जस्तै मैले पनि नेपाललाई शान्त र समृद्ध देशको रूपमा हेर्न चाहेको छु । शान्तपूर्ण वातावरणमा सम्मानका साथ नेपाली हुँ भनेर गर्व गरेर बस्न पाउनु नै तपाईं, म र सम्पूर्ण नेपालीको चाहना हो ।

तपाईंले एउटा प्रसंगमा राजतन्त्र भूतपूर्व संस्था होइन भन्नुभएको थियो । के तपाईंले फेरि राजाको रूपमा आफू र्फकने सम्भावना देख्नुभएको छ ?
मैले सधैं राष्ट्रको हितलाई नै सर्वोपरी राख्दै जनताको निर्णयको सम्मान गर्दै आइरहेको छु र भविष्यमा पनि त्यसै गर्नेछु, त्यसको विपरीत जाने छैन । जहाँसम्म राजतन्त्रको फिर्ताको सवाल छ, यो जनताले निर्णय गर्ने कुरा हो । यो विषयमा मैले बोल्नु भनेको काल्पनिक हुनेछ । जनता नै सर्वोच्च न्यायाधीश हुन् । त्यसकारण राष्ट्र र जनताका लागि दीर्घकालीन प्रभाव पार्ने विषयमा निर्णय गर्नका लागि जनतालाई नै निष्पक्ष र स्वतन्त्र अवसर प्रदान गर्नुपर्छ । वास्तविक रूपमा प्रजातन्त्र भनेको त्यही नै हो । म जहिले पनि जनताको निर्णयलाई नै मान्न तयार छु ।

यदि राष्ट्रलाई तपाईंको आवश्यकता छ भन्ने तपाईंलाई लागेको दिन तपाईं खुला रूपमा आउनुहोला ?
यस विषयमा मभन्दा जनता नै बोल्नु उचित हुनेछ । जनतालाई नै यसको निर्णय गर्न दिनु उचित हुनेछ । म सधैं बहुसंख्यक जनताको निर्णयको पक्षमा हुनेछु । मैले अघि पनि भनिसकेँ कि म पनि एक नेपाली नागरिक हुँ र आमनेपाली जनताले देशको हितका लागि जस्तो निर्णय गर्नेछन् त्यसको स्वागत गर्छु भनेर । वर्तमान समयमा देश इतिहासकै सबैभन्दा कठिन घडीबाट गुजि्ररहेको छ भन्ने कुरा कसैबाट छिपेको छैन । यस्तो अवस्थामा कसैले पनि आफ्नो जिम्मेवारी पूरा गर्नबाट लजाउन हुँदैन । इतिहासले हामीले बोलेको कुरालाई कहिले पनि याद राख्दैन, हामीले गरेको कार्यलाई मात्र याद राख्छ र सही रूपमा 'जज' गर्छ । त्यसकारण सधैं राष्ट्र र जनताका भलाइका लागि मात्र काम गर्नुपर्छ ।

अन्तर्राष्ट्रिय समुदाय र राजनीतिक पार्टीको विरोधका बाबजुद पनि सन् २००५ मा तपाईंले सत्ता हातमा लिएर गल्ती गरेँछु भन्ने लाग्दैन अहिले ?
सबैलाई आ-आफ्नो धारणा तथा विचार राख्न छुट छ । यसमा मैले कुनै धारणा दिइरहनुपर्छ जस्तो लाग्दैन । तर, मलाई पूर्ण विश्वास छ कि मैले त्यो समयमा लिएको कदम राष्ट्रको हितका लागि उचित थियो । त्यो समयमा मैले देशभित्रका र अन्तर्राष्ट्रिय समुदायबाट सहयोग पाउन सकिनँ । मलाई लाग्छ- मैले त्यतिवेला उनीहरू तथा आमनागरिकलाई किन त्यस्तो कदम चालिएको हो भनेर सम्झाउन सकिनँ ।

अहिले देशको एकता, अखण्डता र सार्वभौमिकतामा कतै सम्झौता भएजस्तो लाग्छ ?
प्रत्येक नेपाली नागरिक देशभक्त छन् र उनीहरू देशको हितका लागि तथा देश बचाउनका लागि सधैं लड्न तयार छन् । मलाई सम्पूर्ण नागरिकमाथि पूर्ण विश्वास र भरोसा छ । देश विखण्डित भएको र समाप्त भएको कल्पनासमेत गर्न सकिँदैन । विगतमा पनि देशमाथि आएका समस्या समाधान गर्न जनता एकजुट भएका थिए । त्यसकारण देशमाथि हुने खतराविरुद्ध लड्न जबसम्म नेपाली एकजुट हुनेछन् तबसम्म कसैले केही गर्न सक्दैन ।

राजतन्त्र समाप्त भएपछि राजनीतिक नेताहरू असफल भएकोमा तपाईंलाई खुसी लागेको छ ?
मैले यसलाई त्यो रूपमा हेरेको छैन । जिम्मेवारी पाएकाहरूले मिलेर आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ । नेताहरूले प्रत्येक नेपालीको मुहारमा मुस्कान ल्याउनका लागि गरेका प्रतिबद्धताहरू पूरा गरेको भए म त्यतिवेला सबैभन्दा खुसी नागरिक हुने थिएँ


नया पत्रिका

Wednesday, February 23, 2011

मिडिया र श्रोताले दिएको नाम हो 'राई इज किङ'

पार्श्व गायनमा मुम्बईया एकाधिकार तोड्न नेपाली निर्माता, निर्देशक र सङ्गीतकारहरूको रोजाइका गायक बनेका राजेशपायल राई ले १२औं एकल अल्बम राई इज किङ ल्याएका छन्। गायन यात्राको १९ वर्षमा एकपछि अर्को सङ्घर्ष गरेर आजको स्थानमा आइपुगेको बताउने राजेशले ३०० भन्दा बढी फिल्म, लोक, आधुनिक, पप-रक गरेर करिब १२ सय गीत गाइसकेका छन्।
२०६७ सालमा मात्रै हिट्स, अन्नपूर्ण, कालिका एफएम म्युजिक अवार्ड का साथै छिन्नलता पुरस्कार जितेका भर्सटायल राजेशको पहिलो अल्बम मूर्छना २०५२ सालमा आएको थियो। आज फिल्मी गायनसँगै सुगम सङ्गीतमा उचाइ बनाएका उनी पछिल्लो अल्बमको नामकै कारण पनि चर्चामा छन्।
अल्बमको नाम नै राई इज किङ राखेर आफूलाई राजा भनाउन खोजेको हो? सुन्दा त्यस्तो लाग्न सक्छ, तर यो मैले आफैँ राखेको नाम होइन। गत वर्ष कान्तिपुर साप्ताहिकमा गायन क्षेत्रमा मेरो योगदानको मूल्याङ्कन गर्दै राई इज किङ शीर्षकमा लेख प्रकाशित भएको थियो। मेरा श्रोता/दर्शकले त्यसलाई मन पराएर मलाई राई इज किङ भन्न थाले। अनि मलाई त्यो मन परेर नयाँ अल्बमको नाम त्यही राखेँ। यही नामबाट आफैँ नायक भएर फिल्म पनि बनाउने तयारीमा छु।
तर, जातीयताको चर्को नारा लागिरहेको वेला कतिपयलाई यो नाम मन नपरेको जस्तो छ नि!
नाम राख्नुअघि त्यस्तो केही सोचिएन। ममा जातीय सङ्कीर्णता छँदा पनि छैन। अल्बमको नाम कतिपयलाई मन नपर्ला, कतिले औंला पनि ठड्याउलान् तर मेरा दर्शक/श्रोताले यसरी हेर्दैनन्। फेरि अल्बमको नाम जेसुकै भए पनि सबै नेपाली गीत नै छन्।

यसमा श्रोताका लागि विशेष के छ?
यसमा सेमी क्लासिक, रक, सुफी सबै किसिमका गीत छन्। दुःख, सुख, माया-प्रेम, राष्ट्रिय भावना सबै छन्। युवा र परिवर्तित समाजको भावना समेटिएको छ। लिम्बू भाषाको शब्द विचार चोंगे (विचार गर) लाई नेपालीमा फ्युजन गरेको छु। क्या मज्जा..., आफ्नो छैन आफ्नै मन.. आदि गीतहरू श्रोताले रुचाइरहेका छन्। यी गीतहरू आइट्युन्स, नोकिया'भीआई, सेलरोटीडटकम आदिबाट विश्वभरका श्रोताले डाउनलोड गर्न सक्छन्। कोरिया, मलेशिया र गल्फमा सीआरबीटी लिन सकिन्छ।

फिल्मी गायन फाप्यो हैन?
आधुनिक पनि फापेको छ। कुनै दिन ५/६ वटासम्म फिल्मका गीत गाइरहेको हुन्छु। गत वर्ष निकालेको दर्शन नमस्ते अल्बमका गीतहरू पनि श्रोताले औधी रुचाए। फिल्मका गीतहरू पनि हिट भइरहेका छन्। अवार्ड र सम्मानहरू पाइरहेकै छु। फिल्मका निर्माता/निर्देशकहरू पनि पार्श्व गायक खोज्न मुम्बई धाउन छाडेका छन्।

सङ्गीतकार र नायक पनि भएको हो? तिम्रै लागि, कानुन लगायतका ९ फिल्ममा सङ्गीत पनि दिएँ। गुण्डाराज फिल्ममा नायक बनेँ। अब आफैं फिल्म बनाउने तयारीमा पनि छु। तर, मेरो मुख्य विधा चाहिँ आधुनिक र फिल्मी गायन नै हो।