Showing posts with label economy. Show all posts
Showing posts with label economy. Show all posts

Thursday, June 9, 2011

टेलिकम आक्रामक विस्तारमा. एकै पटक एक करोड लाइन मोबाइल किन्दै

नेपाल टेलिकमले एकै पटक एक करोड लाइन जिएसएम मोबाइल किन्ने तयारी गरेको छ। पटक पटक मोबाइल किन्ने झण्झटको विकल्पमा एकै पटक एक करोड लाइन जिएसएम मोबाइल किन्ने तयारी टेलिकमले गरेको हो।  नेपालमा मोबाइल टेलिफोन सुरु भएको १२ वर्षमा टेलिकमका ४८ लाख जिएसएम मोबाइल उपभोक्ता छन्। टेलिकमले केही वर्षलाई माग धान्नेगरि एकैपटक एककरोड लाइन किन्ने तयारी गरेको हो। ५० लाख लाइन किन्ने तयारी भएकोमा धेरै पटक टेण्डर गरेर लामो प्रकृया लागिरहने, अख्तियार सार्वजनिक खरिद कार्यालय जस्ता निकायहरुमा उजुरी परेर लामो समय अड्किने र एकै पटक धेरै किन्दा सस्तो समेत पर्ने भएपछि टेलिकमले ठूलो परिमाणमा किन्ने तयारी गरेको छ।
‘केही दिनभित्रै यसको विस्तृत प्रस्ताव तयार गरेर सञ्चालक समितिमा पठाउँदैछौं,' टेलिकम स्रोतलेभन्यो। ५० लाख लाइन मोबाइल किन्ने तयारी भएपनि कम्पनीका उच्च अधिकारीहरुबीच एक करोड लाइन किनेर काठमाडौंमा पुरै नयाँ प्रविधि जडान गर्ने योजनामा लागेका छन्।
एक करोड लाइन एकै पटक किन्दा आर्थिक रुपमा फाइदा हुने विश्लेषण टेलिकम अधिकारीहरुको छ। धेरै लाइन एकै पटक किन्दा सस्तोमा सप्लायर्स कम्पनीले दिने संभावना रहन्छ। चार वर्ष अघि टेलिकमले ३५ लाख लाइन किन्दा जेडटीईले प्रति लाइन ३ अमेरिकी डलर तिरेको थियो।
तर एकै पटक एक करोड लाइन किन्दा छिटो गतिमा आउने प्रविधिको परिवर्तनले पछि समस्या ल्याउनसक्ने विश्लेषण केही अधिकारीहरुको छ। ‘एक करोड लाइन भनेको टेलिकमको लागि धेरै ठूलो प्रोजेक्ट हो, धेरै किन्दा पछि के गर्ने भन्ने समस्या आउनसक्छ,' टेलिकमका एक उच्च अधिकारीले भने।
१२ वर्षसम्म मोबाइल वितरण गर्दा बल्ल ४८ लाख ग्राहक भएको अवस्थामा एक करोड लाइन किन्दा अर्को १० वर्षलाई माग धान्न सक्छ। यसको साथै हरेक २/३ वर्षमा प्रविधिमा भैरहेको परिवर्तनले यति धेरै लाइनमा समस्या आउनसक्ने भन्दै केही अधिकारीहरुले अहिलेनै ठूलो परिमाणमा किन्न नहुने सुझाव दिइरहेका छन्।
अहिले सिमकार्ड नभएकोले टेलिकम आक्रामक रुपमा ग्राहक विस्तारमा जान सकेको छैन।
पटक पटक गरिएका टेण्डर अख्तियारमा पुगेर रद्ध भएकोले टेलिकम एकै पटक एक करोड लाइन किन्न वाध्य भएको अर्का एक अधिकारीले बताए। ‘अहिले हामीले उपभोक्ताको माग अनुसार सिमकार्ड बाड्न सकेका छैनौ, यो हुनुमा सिमकार्ड प्रयाप्त नहुनु हो,' स्रोतले भन्यो। सिमकार्ड प्रयाप्त हुन एकैपटक ठूलो मात्रामा किन्नैपर्ने वाध्यता आएको ती अधिकारीले बताए।
प्रतिस्पर्धी कम्पनीहरु ग्राहकले भनेको समयमा सिमकार्ड बाँडेर आक्रामक रुपमा आइरहेको तर टेलिकमले भने माग अनुसार सिमकार्ड दिन नसकेको विश्लेषण गर्दै टेलिकम अधिकारीहरुले सञ्चालक समितिमा एक करोड लाइन जिएसएम मोबाइल किन्ने प्रस्ताव लैजाने तयारीमा छन्।
२० लाख सिडिएमए हुवाईसँगः
यसैबीच टेलिकमले चीनको हुवाईसँग २० लाख सिडिएमए मोबाइल किन्ने निर्णय गरेको छ। सबैभन्दा सस्तो दरमा सिडिएमए मोबाइल बेच्ने प्रस्ताव गरेको हुवाईसँग टेलिकमले २० लाख लाइन किन्ने निर्णय गरेको छ। यसअघि नेपालमा मोबाइल टेलिफोन उपकरणमा जेडटिई कम्पनीको एकाधिकार थियो।

हुवाईले आइपी सिडिएमए मोबाइल एक वर्षदेखि १८ महिनाभित्र टेलिकमलाई डेलिभरी दिन सुरु गर्नेछ। यसबाट उच्चगतिको इन्टरनेट समेत चल्छ। यसलाई तारवाला टेलिफोन नपुगेका गाउँगाउँमा सूचना प्रविधि विस्तार गर्ने योजना टेलिकमको छ।

हुवाईले यस पटक जेडटिईभन्दा सस्तो दरमा मोबाइल उपकरण दिने प्रस्ताव गरेको थियो। टेलिकमले पूर्वी र पश्चिमी क्षेत्रमा २० लाख इन्टरनेट प्रोटोकल (आइपी) सिडिएमए फोन किन्न टेन्डर आह्वान गर्दा हुवाईले सबभन्दा सस्तो मूल्य प्रस्ताव गरेको स्रोतले जानकारी दियो।

टेलिकमका एक उच्च अधिकारीका अनुसार हुवाईले पूर्वको १० लाख मोबाइललाई १ करोड १० लाख अमेरिकी डलर मूल्य प्रस्ताव गरेको छ। यो जेडटिईको तुलनामा आधा सस्तो हो। पश्चिमी क्षेत्रलाई २ करोड ६६ लाख डलरको प्रस्ताव गरिएको छ। जेडटिईको प्रस्ताव योभन्दा १ करोड ८१ लाख डलर बढी छ।
गत चैत अन्तिम साता टेलिकमले खोलेको ग्लोबल टेण्डरमा चीनका हुवाई र जेडटिई, कोरियाको कोरियन टेलिकमले प्रतिस्पर्धा गरेका थिए। ‘दुई चिनियाँ कम्पनीसँग मूल्यमा प्रतिस्पर्धा गर्न नसक्ने देखेर विश्वका अरू कम्पनीले टेन्डरमा भागै लिएनन्,' स्रोतले भन्यो।
सधैंभरी टेलिकमको मोबाइल उपकरण टेन्डर हात पार्दै आएको जेडटिईलाई धक्का दिनेगरी यसपटक हुवाईले निकै सस्तो मूल्य प्रस्ताव गरेको थियो। यसअघि हुवाईले टेलिकमलाई १० लाख जिएसएम मोबाइल बेच्ने अवसरमात्र पाएको थियो। जेडटिईले भने टेलिकमलाई एकैपटक ३५ लाख जिएसएम मोबाइल बेचेको थियो। चार वर्षअघि यो कम्पनीले प्रतिलाइन तीन डलरमा मोबाइल उपकरण बेचेको थियो।
जेडटिईले बेचेका उपकरणको गुणस्तर कमसल भयो भनी लामो समयदेखि आलोचना हुँदै आएको छ। जेडटिईको सामान बिक्री गरिसकेपछि सेवा राम्रो नभएकोले पनि मोबाइल सेवाको गुणस्तर कम भएको धारणा बेलाबखत टेलिकमका अधिकारीहरुले बताउँदै आएका छन्।
दुई वर्षयता कुनै पनि नयाँ परियोजना सुरु गर्न नसकेको टेलिकमले सबै गाविसमा यसबाट उच्च गतिको इन्टरनेट पुर्‍याउने योजना बनाएको छ।
जेडटिई र हुवाई संसारमै सबैभन्दा सस्तो भाउमा दूरसञ्चारका उपकरण बेच्न आक्रामक प्रतिस्पर्धा गरिरहेका छन्। यी दुई कम्पनीहरुसँग प्रतिस्पर्धा गर्न नसकेर नोर्टेल जस्तो युरोपको पुरानो कम्पनी समेत बन्द भएको छ।
तत्काल चारलाख लाइन किन्ने
काठमाडौं - टेलिकमले आइपी सिडिएमए ल्याउन झण्डै डेढ वर्ष लाग्ने भएपछि ‘ब्रिजिङ प्रोजेक्ट' को रुपमा चारलाख लाइन मोबाइल किन्ने निर्णय गरेको छ।

सञ्चालक समितिको आइतबारको बैठकले वार्ताका आधारमा चारलाख सिडिएमए मोबाइल किन्ने निर्णय गरेको छ। ‘पहिले किनेको भन्दा बढी मूल्य नपर्ने गरी वार्ताको आधारमा उपयुक्त कम्पनीसँग सिडिएमए मोबाइल किन्ने निर्णय भएको छ,' टेलिकम स्रोतले भन्यो।
आइपी सिडिएमएको लागि हुवाईले प्रस्ताव गरेभन्दा बढी मूल्य नतिर्ने गरी वार्ता अघि बढाउन सञ्चालक समितिले कम्पनी व्यवस्थापनलाई स्वीकृती दिएको छ। ‘हुवाईसँग किन्ने सम्झौता भएको २० लाख लाइन आएर सेवा सुरु हुन डेढ वर्ष लाग्ने भएपनि त्यस अवधिमा माग अनुसार टेलिफोन दिन ब्रिजिङ प्रोजेक्टको रुपमा यो चारलाख लाइन किन्ने निर्णय भएको हो,' टेलिकम स्रोतले भन्यो।
यसको लागि कम्पनी व्यवस्थापनलाई हुवाई र जेडटीइसँग वार्ता अघि बढाउने निर्देशन सञ्चालक समितिले दिएको छ। गाउँमा बढी माग भएको सिडिएमए मोबाइलको क्षमता समाप्त हुन लागेकोले ठूलो मात्रामा नआएसम्मको लागि सानो परिणाम किन्ने निर्णय टेलिकमले गरेको हो।
‘पहिले जेडटीईसँग किनेको र हालै हुवाईसँग सम्झौता भएको दरभन्दा बढी मूल्य भने ब्रिजिङ प्रोजेक्टको लागि नतिर्ने निर्णय भएको हो,' टेलिकम स्रोतले भन्यो।
 नागरिक

Saturday, May 7, 2011

६ लेनबाट नेपालीले सिकेको पाठ

सतहमा भएको माटोमा गुणस्तरीय सडक बन्न नसक्ने भएपछि अन्यत्रबाट ल्याएर पनि बलियो बनाएको सुन्दा अचम्म लाग्छ । तपाई हामी सरर गुड्ने मुलुककै फराकिलो तीनकुने-भक्तपुर सूर्यविनायक ६ लेनमा गुणस्तरीयता झल्काउने यो एउटा उदाहरण हो । जापानले करिब २ अर्ब खर्च गरी बनाएको यस सडकको सतहमा नदेखिने यस्ता बाक्लै अनुभव नेपाली कर्मचारीसँग छन् । सडक विस्तारको क्रममा ३० जना इन्जिनियर, ६० जना सुपरभाइजर र पाँच सय कामदारले जापानीसँग व्यावहारिक ज्ञान सिकेका छन् । ९ दशमलव १ किलोमिटर लम्बाइको सडक विस्तारमा नेपालीले सिकेका ज्ञान र अनुभव काठमाडौं-भक्तपुर सडक विस्तार आयोजना प्रमुख सरोज प्रधानको शब्दमा-
सडक विस्तारको क्रममा बढीमा ६ जना मात्रै जापानी उच्च प्राविधिक थिए । बाँकी सबै नेपाली । जतिसुकै अप्ठेरोमा पनि निर्धारित समयमा गुणस्तरीय काम गर्न सकिने सम्भावना यस आयोजनाले देखाएको छ । काम गर्न साता र महिना दिनको कार्यतालिका बनाइएको हुन्थ्यो । कुन दिन कहाँ काम गर्ने ? अलकत्रा कहाँ बनाउने ? निर्माण सामग्री कहाँ तयार गर्ने ? कुन बेला कति सामान ढुवानी गर्ने ? पहिले नै योजना बनाइएको हुन्थ्यो ।


योजना प्रक्रिया
नेपालमा कसरी गर्ने ? कुन ठाउँमा कति समयमा लगाउनेे  ? एक ठाउँमा अवरोध आयो भने के गर्ने ? भन्ने छैन । जापनीसँग काम गर्दा पहिलो चरणमा अवरोध आएपछि अर्को चरणमा काम सुरु गरेको थियो । त्यसपछि काम गर्नलाई के-के सामान चाहिन्छ  ? कति समान ल्याउने ? जस्ता ज्ञान सिकें । सडकको पिच गर्ने काम तोकिएकै समयसीमामा सकिएको छ । जापानी ठेकेदारले योजनाअनुसार काम गरेकाले तोकिएकै बेलामा सकिएको हो । योजनाको दुरुस्त विवरण राखिएको हुन्थ्यो र चाहिएको बेला सजिलै उपलब्ध हुने व्यवस्था मिलाइएको छ ।

उपकरण
आयोजना सुरु हुनुभन्दा पहिले कुनकुन उपकरण चाहिन्छ भन्ने  योजना नबनाई काम सुरु गर्ने हाम्रो बानी छ । तर ६ लेन सडकबाट के काम गर्न कुन उपकरण चाहिन्छ ? त्यसमा आवश्यक इन्धन कसरी पुर्‍याउने ? उपकरण मर्मत सम्भार कति समयमा गर्ने ? यस्ता विषयमा नेपालीले ज्ञान लिएका छन् ।

निर्माण सामग्री व्यवस्थान जुन बेला आवश्यक पर्छ त्यही बेला निर्माण सामग्री संकलन गर्ने हाम्रो बानी छ । तर यहाँ काम सुरु हुनुअघि नै गिट्टी, सिमेन्ट, बालुवा ढुंगा, छड, बिटुमिनलाई ल्याउने स्थान, भण्डारण गर्ने योजना बन्थ्यो । बन्द हुने भयो भने पनि काम नरोकिने गरी स्टक व्यवस्थापन हुन्थ्यो ।

कसरी गुणस्तरीय बनाउने ?
सडकलाई गुणुस्तरीय बनाउन ठेकेदारको मुख्य जिम्मेवारी हुन्छ । यस बाटोलाई गुणस्तरीय बनाउन जमिन मुनिको माटो स्तरीय नहुने भएपछि अन्यत्रबाट परीक्षण गरी ल्याइएको छ । सामान निकाल्ने ठाउँ, स्टोर गरेको ठाउँ र आवश्यक सामान मिसाएर प्रयोगमा ल्याउनुअघि परीक्षण भएको छ । पीच गर्न गिट्टी टिकाभैरवबाट ल्याइएको हो । हामीले त्यहाँ पनि परीक्षण गर्‍यौं । आफूलाई चाहिने आकारको गिट्टी मात्रै लियौं । त्यति गर्दा पनि सडकमा गुणस्तरमा कमी आएर बिगि्रयो भने पिच गरेको ठाउँमा भत्काइएको थियो । डिजाइनभन्दा गलत भएको ठाउँमा पुनः मर्मत गरिएको छ । जोखिम व्यवस्थापन गर्नुपर्छ । हाम्रो देशमा बिगि्रयो भने बनाउने/भत्काउने चलन छैन ।

सडकलाई कसरी गुणस्तरीय बनाउने भन्नेबारे टेक्निकल र जेनरल मिटिङ हुन्थ्यो । टेक्निकल बैठकमा नक्सा परिवर्तन, सामानको गुणस्तरमा छलफल गथ्र्यौं । परामर्शदाता र ठेकेदारको दैनिक मिटिङ हुन्थ्यो । सडक स्तरीय बनाउन चालेको माटो पनि राखिएको छ ।  त्यसलाई स्वाइल इन्प्रुभमेन्ट भनिन्छ ।

निर्माणाधीन सडकमा पानी हाल्यो फुल्ने र घाम लाग्दा सुकेर साह्रो हुने माटो हटाएर गुणस्तरीय माटो हालेका छौं । ढुंगेधारा नसुकाउन भनेर माटो नहटाई ढलान गरिएको छ । बस स्टपमा सवारीको भार बढी हुने भएपछि ढलान गरिएको छ । यसले खाल्डाखुल्डी नहोस् भनेर कङक्रिड गरिएको हो ।

कामदार सुरक्षासडकमा खटिने कामदारको बिमा गरिएको थियो । दुर्घटनाबाट बच्ने उपाय सिकाउने गरिएको थियो । सुरक्षाका लागि ठेकेदार, परामर्शदाता र आयोजनाबीच बारम्बार छलफल गर्ने र स्थलगत निरीक्षण गर्ने गरिन्थ्यो । ठेकेदारले कामदारलाई दैनिक काममा जानुअघि सुरक्षाबारे जानकारी गराउने गथ्र्यो ।
६ लेन विस्तारका क्रममा नेपालमै पहिलो पटक अर्थ रिनफेर्स वाल -कङक्रिट प्यानल) प्रयोग भएको छ । धेरै गहिरो ठाउँलाई उचालेर समथर बनाउन यसको प्रयोग गरिन्छ । यसको ग्यारेन्टी ५० वर्ष हुन्छ । पुरानो प्रविधि र प्यानल लगाउने खर्च उस्तै हो । यसका लागि ठाउँ थोरै भए

पुग्छ । यो प्रविधि नेपाली कामदारले उत्पादन गर्ने र जडान गर्न सक्ने मौका पाएका छन् । सर्वसाधारणले रेलिङ नाघेर जेब्रा क्रसिङभन्दा अन्यत्रबाट बाटो काट्न थालेपछि सडकको बीचमा बार लगाइएको छ । जसलाई मिडिन फेन्च भनिन्छ ।

Wednesday, April 27, 2011

सुन तोलाको ४२ हजार १ सय

लगातार बढिरहेको सुनचाँदीको मूल्यले आइतबार हालसम्मकै उच्च रेकर्ड कायम गरेको छ । आइतबार स्थानीय बजारमा सुन प्रति १० ग्राम ३६ हजार ९५ (प्रतितोला ४२ हजार १ सय) रुपैयाँमा कारोबार भएको छ । यो हालसम्मकै महँगो हो । यसअघि गत बिहीबार र शुक्रबार प्रति १० ग्राम ३५ हजार ७ सय १० रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा शुक्रबार बेलुकी सुनचाँदीको भाउ नयाँ उचाइमा पुगेपछि स्थानीय बजारमा समेत सर्वाधिक महँगोमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ । अन्तर्राष्ट्रिय मूल्यका आधारमा सुनचाँदीको दैनिक मूल्य निर्धारण हुने गर्छ ।यसैगरी अन्तर्राष्ट्रिय बजारलाई पछ्याउदै चाँदीको मूल्य पनि हालसम्मकै उच्च भएको छ ।
शुक्रबार प्रति १० ग्राम १ हजार १ सय २ रुपैयाँ रहेको चाँदीको भाउ आइतबार ३८ रुपैयाँ बढेर प्रति १० ग्राम १ हजार १ सय २० रुपैयाँमा कारोबार भएको छ ।“आज सुनचाँदी हालसम्मकै उच्च मूल्यमा कारोबार भयो,” संघका अध्यक्ष तेजरत्न शाक्यले भने, “अन्तर्राष्ट्रिय बजारमा मूल्य उच्च भएपछि त्यसको असरले स्थानीय बजारमा महँगो भएको हो ।” अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको भाउ लगातार बढिरहेकाले तत्काल सुनको भाउ घट्ने सम्भावना नदेखिएको उनले बताए । विवाहको लगन सुरुसँगै सुनको मूल्य उच्च भएपछि सर्वसाधारण उपभोक्ता प्रभावित भएका छन् ।


इजिप्टको राजनीतिक तनावसँगै सुनको भाउ उकालो लागेको हो । लिबियामा बहुराष्ट्रिय सैन्य आक्रमणप्रति भारत, चीन, रुस, ब्राजिल, दक्षिण अफ्रिकालगायतका देशले विरोध गरेपछि मूल्य झनै उच्च भएको हो ।अन्तर्राष्ट्रिय बजारमा पनि सुनचाँदीको भाउले ऐतिहासिक रेकर्ड कायम गरेको छ । शुक्रबार बेलुकीसम्ममा प्रतिऔंस १ हजार ५ सय १२ डलरको रेकर्ड कायम गरेको सुनको मूल्य त्यसपछि सामान्य घटेर १ हजार ५ सय ८ डलरसम्म झरेको छ । यसले सोमबार स्थानीय बजारमा मूल्य सामान्य घट्ने सम्भावना देखिएको छ । भारत, चीनलगायतका देशहरूमा सुनको खपत बढिरहेका कारण भाउ अझै उकालो लाग्नसक्ने विश्लेषकरु बताउँछन् । उनीहरूका अनुसार सेयरभन्दा सुन भरपर्दो लगानीको क्षेत्र बन्दै गए पनि उत्पादन नबढेका कारण मूल्य उच्च भएको हो । 

कारोबार राष्ट्रिय आर्थिक दैनिक

Saturday, April 2, 2011

सर्वसाधारणलाई छुँदै छन् बैंकहरु

केही बैंकले खाता खोल्दा उल्टै रकम दिने योजनासमेत ल्याएका थिए, केहीले अहिले विभिन्न योजना ल्याएका छन् जसले निम्नस्तरका सर्वसाधरणसम्म पुग्न बैंकलाई सजिलो भएको छ
सानो भर्‍याङकी शिला तजियाले बैंकमा रकम जम्मा गरेर फर्किंदा ग्यास स्टोभ, राइस कुकरलगायत घरायसी सामान लिएर आइन् । करिब दुई महिनाअघि जनता बैंकमा खाता खोल्दा उनले यी सामान पाएकी हुन् । ँपत्रिकामा विज्ञापन देखेपछि खाता खोलिकी थिएँ,’ उनले भनिन्, ँसामान लिएर फर्किएँ ।’
कमर्ज एन्ड ट्रस्ट बैंकले गत साता खाता खोल्दा सिनेमाको टिकट निःशुल्क पाउने योजना ल्यायो । यस योजनाअन्तर्गत खाता खोल्दा जय नेपाल र कुमारी हलको टिकट पाइन्छ ।
शून्य रुपैयाँमा खाता खोल्दा १ सय रुपैयाँ जम्मा गरिदिने गरी नारी दिवसका अवसरमा सिभिल बैंकले योजना ल्यायो । यस्तै खाले योजनाको सुरुवात भने किस्ट बैंकले करिब ४ वर्षअघि गरेको थियो ।

पछिल्लो पटक खुलेको सेन्चुरी कमर्सियल बैंकले बचतमै ११ प्रतिशतसम्म ब्याज दिने गरी खाता खोल्ने योजना ल्याएको छ ।
यी योजना नेपालको उदारीकरण प्रक्रियासँगै खुलेका निजी वित्तीय संस्थाले बजारमा ल्याएको प्रतिस्पर्धाका उदाहरण हुन् । यसले एकातर्फ बैंकलाई नयाँ ग्राहक दिएको छ भने बैंकले ग्राहकलाई बढी प्रतिफल र सस्तो सेवा दिन थालेको छ ।
१० वर्ष अघिसम्म पनि खाता खोल्न कम्तीमा ५ हजार रुपैयाँ चाहिन्थ्यो । बढ्दै गएको प्रतिस्पर्धाले बैंकलाई साहुबाट सेवा प्रदायक संस्था बनाउँदै लग्यो ।
वीरगन्जका यमबहादुर महत अझै आफ्नो २ हजार ६३ रुपैयाँको खाता सम्झन्छन् । 'नयाँ वर्ष २०६३ को उपलक्ष्यमा इन्भेस्टमेन्ट बैंकले त्यति नै रुपैयाँमा खाता खोल्ने योजना ल्याएको थियो,' उनले भने, 'त्यो समयमा सस्तो लागेर खाता खोलें ।'
यसको केही वर्षपछि नै इन्भेस्टमेन्ट बैंकले १ रुपैयाँमा खाता खोल्ने योजना ल्याएको थियो । केही वाणिज्य बैंकसमेत
अब घरदैलो सेवा सुरु गर्नेसम्मको तयारी गर्दै छन् ।
बैंक तथा वित्तीय संस्थाको संख्या बढ्दै गएपछि निक्षेप आकषिर्त गर्न थप भएका यस्ता सुविधाले बैंकिङ प्रणालीमा पनि परिवर्तन ल्याउँदै गएको छ । 'ठाउँअनुसारको सेवा सुविधा सञ्चालन गर्दा फाइदा पुग्छ,' डिसिबिएल बैंकका प्रमुख कार्यकारी अधिकृत सुधीर खत्री भन्छन्, 'हामीले पनि ग्राहकमुखी सेवामा जोड दिएका छौं ।'


डिसिबिएलले पछिल्लोपटक भोटाहिटी र सानेपा शाखाबाट ग्राहकको घरघरमै गएर निक्षेप संकलन गर्ने सेवा सुरु गरेको छ । 'यसले ग्राहकको बैंकसम्म आउने समय जोगाएको छ,' उनले भने, 'आफ्नै पारिवारिक बैंकका रूपमा हामी अघि
बढ्दै छौं ।'
'क' वर्गका वाणिज्य बैंकहरूको संख्या नै ३१ पुगिसकेको छ । यसैगरी ८३ विकास बैंक, ७९ वित्त कम्पनी, १९ लघुवित्त विकास बैंकले सेवा दिइरहेका छन् । यी वित्तीय संस्थाका करिब ११ सय शाखा देशभर छन् ।
प्रतिस्पर्धासँगै गत वर्षदेखि बजारमा खर्च गर्न योग्य रकम -तरलता) को पनि अभाव हुन थाल्यो । सर्वसाधारणको बचत बैंक वित्तीय संस्थाका लागि थप आवश्यक पर्‍यो । जसले ५ वर्षमै बचतको ब्याजदर औसत ३ बाट ११ प्रतिशतसम्म पुर्‍याएको छ ।
'हामीले ९ देखि ११ प्रतिशतसम्म ब्याज दिइरहेका छौं,' पछिल्लोपटक खुलेको सेन्चुरी कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश श्रेष्ठ भन्छन्, '१ सय रुपैयाँमा खाता खोल्न सकिन्छ ।' विभिन्न उपहार राखेका योजना भने बैंकले नल्याउने उनले बताए । 'अहिले बजार अध्ययन गरिरहेका छौं,' उनले भने, 'छिट्टै प्रतिस्पर्धी र आकर्षक योजना ल्याउनेछौं ।'
सिभिल बैंकले नारी दिवसको अवसर पारेर बैंकले एक महिनासम्म महिलालाई शून्य मौज्दातमा खाता खोल्दा १ सय रुपैयाँ जम्मा गर्ने योजना ल्याएको थियो । 'विशेष अवसरमा विशेष योजना ल्याइरहनेछौं,' प्रमुख कार्यकारी अधिकृत किशोर महर्जनले भने, 'यसले ग्राहक बढाउन र निक्षेप संकलनमा मद्दत पुर्‍याउँछ ।' यसका साथै ब्याजलाई पनि प्राथमिकतामा राखेको उनी बताउँछन् । 'एकमात्र कार्यालय रहेको बैंकमा दैनिक ५० को औसतमा खाता खोल्ने क्रम छ,' उनले भने, 'शाखा विस्तारसँगै यो पनि बढ्नेछ ।'
स्ट्यान्डर्ड चार्टर्ड बैंकमा कुनै समय खाता खोल्न न्यूनतम ५० हजार रुपैयाँसम्म चाहिन्थ्यो । 'अहिले २५ सयसम्ममा खाता खोल्न सकिने व्यवस्था पनि छ,' बैंकका कर्पोरेट अफेयर्स प्रमुख दिवाकर पौडेलले
भने । रकम झिक्न पनि चेकबुक नै चाहिने अवस्था अन्त्य भएको पनि झन्डै दशक छुन लागिसक्यो । देशभर करिब ७ सय एटिएम छन्, जसबाट रकम झिक्न सकिन्छ ।
टोकन लिएर चेक साट्नुपर्ने पुराना सरकारी बैंक पनि के कम । वाणिज्य बैंक र नेपाल बैंकमा पनि जुनसुकै शाखाबाट रकम राख्न र झिक्न सकिने सेवा -एबिबिएस)
सुरु भइसकेको छ ।
सरकारी बैंकका कर्मचारीको पनि ग्राहकसँग गर्ने व्यवहारमा क्रमशः सुधार भइरहेको छ । 'पहिलेभन्दा कर्मचारीको व्यवहार कम रूखो छ,' राष्ट्रिय वाणिज्य बैंकबाट पेन्सन लिइरहेका शिक्षक
श्यमप्रसाद ढुंगेल भन्छन्, 'बिस्तारै सुधार होला नि ।'
सुधारको अपेक्षा सबैतिर छ । अधिकांश निजी वित्तीय संस्था पनि खाता खोल्दा जति नरम हुन्छन् त्यसपछिको सेवा दिन त्यति नै रूखा देखिन्छन् । ग्राहक संख्या बढाएपछि सीमित कर्मचारीले सेवा दिन नसकेका कारण पनि सामान्य कामका लागि पनि घन्टौं कुर्नुपर्ने समस्या छ ।
स्ट्यान्डर्ड चार्टर्डमा भने सेवाको गुणस्तरीयता कायम राख्न केन्द्रीय कार्यालयमा भने खाता खोल्न न्यूनतम २५ हजार आवश्यक पर्ने पौडेलले बताए । 'खाता खोलेर मात्रै भएन आफ्नो स्ट्यान्डर्डको सेवा पनि दिन सक्नुपर्‍यो,' उनी भन्छन् ।
कांतिपुर 
रोशन अधिकारी

Saturday, March 26, 2011

अब १० कक्षासम्म पाठ्यपुस्तक निःशुल्क

आगामी शैक्षिक सत्रदेखि सार्वजनिक विद्यालयका नौ र १० कक्षाका विद्यार्थीलाई पनि निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराइने भएको छ । शिक्षा मन्त्रालयले विद्यालय शिक्षालाई निःशुल्क गर्दै लैजाने नीतिअनुसार दुवै कक्षाका पाठ्यपुस्तकका लागि करिब ३७ करोड रुपैयाँ विनियोजन गरेको छ ।
अन्तरिम संविधानमा विद्यालय शिक्षालाई निःशुल्क गर्दै जाने उल्लेख भएको र सर्वोच्च अदालतले समेत त्यस्तै आदेश दिएका कारण मन्त्रालयले पाठ्यपुस्तक निःशुल्क उपलब्ध गराउने कार्यक्रम ल्याएको हो । शिक्षा विभागका कार्यक्रम तथा बजेट शाखा प्रमुख दीपक शर्माका अनुसार यस वर्षका लागि नौ र १० कक्षाका ६ लाख ५६ हजार चार सय २४ विद्यार्थीलाई पाठ्यपुस्तक निःशुल्क वितरण गरिनेछ ।
पाठ्यपुस्तक खरिदका लागि विनियोजित ३७ करोड ६६ लाख ८८ हजार रुपैयाँमध्ये विद्यार्थीसंख्याका आधारमा सबै जिल्ला शिक्षा कार्यालयमा पठाइएको विभागका कार्यक्रम प्रमुख शर्माले जानकारी दिए । जिल्ला शिक्षा कार्यालयहरूले रकम विद्यालयमा वितरण गर्ने उल्लेख गर्दै शर्माले भने, 'निःशुल्क पुस्तक वितरणबारेमा अख्तियारी पठाइसकेका छौँ ।'


वैशाखबाट सुरु हुने शैक्षिक सत्रमा कक्षा नौमा तीन लाख ५३ हजार पाँच सय १५ विद्यार्थी भर्ना हुने अनुमान गरिएको छ । शिक्षा विभागका अनुसार नौ कक्षाका लागि ६ वटा अनिवार्य र दुई ऐच्छिक गरी आठवटा पाठ्यपुस्तकका लागि प्रतिसेट पाँच सय ९६ रुपैयाँका दरले करिब २१ करोड सात लाख रुपैयाँ विनियोजन गरिएको छ ।
यसैगरी, कक्षा १० मा तीन लाख दुई हजार नौ सय नौ विद्यार्थी भर्ना हुने अनुमान गरिएको छ । १० कक्षाका पाठ्यपुस्तकको प्रतिसेट पाँच सय ४८ रुपैयाँको दरले १६ करोड ५९ लाख ९४ हजार रुपैयाँ विनियोजन गरिएको छ ।
कक्षा आठसम्मका विद्यार्थीले भने यसअघि नै निःशुल्क पुस्तक पाइरहेका छन् । शिक्षा मन्त्रालयले कक्षा एकदेखि पाँचसम्मका ४२ लाख ५६ हजार विद्यार्थीका लागि ७३ करोड ९४ लाख ७२ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । त्यसैगरी, कक्षा ६ देखि ८ सम्मका १३ लाख ६६ हजार विद्यार्थीका लागि ५५ करोड ४४ लाख ३० हजार रुपैयाँ विनियोजन गरेको छ । सरकारले त्यसअघि सीमान्तकृत तथा आदिवासी जनजाति विद्यार्थीलाई मात्र पाठ्यपुस्तक उपलब्ध गराउँदै आएको थियो ।
भवानीस्वोर  गौतम
नया पत्रिका

आर्थिक विकासमा चीनले अमेरिकालाई उछिन्ने

विश्व बैंकका प्रमुख अर्थविद् जस्टिन लिनले उदाउँदो चीनले आगामी २० वर्षसम्म लगातार वार्षिक आर्थिक वृद्धिदर ८ प्रतिशत कायम राख्न सफल रह्यो भने यसले अमेरिकालाई पाखा लगाउँदै विश्वकोे सबैभन्दा ठूलो अर्थतन्त्र बन्न सक्ने बताएका छन् ।
गत वर्ष चीनले विश्वको दोस्रो ठूलो अर्थतन्त्रको स्थानमा रहेको जापानलाई उछिनेको थियो । विश्वको दोस्रो ठूलो अर्थतन्त्रको उपाधि पाएको चीनले चालू वर्षका लागि वार्षिक आर्थिक वृद्धिदर ८ प्रतिशत हासिल गर्ने लक्ष्य लिएको छ, जसले आगामी सन् २०१५ सम्मको वार्षिक वृद्धिदर ७ प्रतिशत कायम राख्ने लक्ष्य लिएको छ ।
“सन् २०३० सम्ममा चीन विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र बन्न सक्छ,” जस्टिनले भने । २०३० सम्ममा चिनियाँ अर्थतन्त्रको आकार क्रयशक्ति समता (पीपीपी) का आधारमा दोब्बर हुने उनको प्रक्षेपण छ ।
विगत दुई दशकयता चीनमा विश्वको सबैभन्दा द्रुत गतिले आर्थिक विस्तार भएको जस्टिन बताउँछन्  । सन् १९९०–२०१० को बीच अवधिमा चीनले आश्चर्यपूर्ण तरिकाले वार्षिक १०.४ प्रतिशतका दरले आर्थिक वृद्धि गर्न सफल भयो, जुन आर्थिक वृद्धिदरको प्रवृत्ति अन्य राष्ट्रहरूको तुलनामा निकै सबल हो ।
जस्टिनले सन् २००८ को विश्वव्यापी आर्थिक मन्दीबाट प्रभावित विश्व अर्थतन्त्रको सुधार कमजोर रहेका कारण चिनियाँ अर्थतन्त्रको विस्तारमा अवरोध सिर्जना हुनेप्रति चेतावनी दिएका छन् । यसका साथै देशको केही आन्तरिक समस्याको असरले गर्दा पनि अर्थतन्त्रको वृद्धिदर कमी आउन सक्ने उनको अनुमान छ ।
आर्थिक विस्तार द्रुत बनेसँगै केही वर्षयता चीनमा आम्दानी अन्तर पनि बढ्दै गएको छ, जसले सामाजिक अन्योल सिर्जना हुन सक्छ ।
“विश्वव्यापी बढ्दो तापमानले चीनको दीर्घकालीन आर्थिक विस्तारको स्थायित्वमा वास्तविक चुनौती थप्नेछ,” उनले भने, तर विश्वको सबैभन्दा ठूलो फोहोर उत्पादक राष्ट्र चीनलाई उनले अबका दिनहरूमा कार्बन उत्सर्जनलाई न्यून पारी हरित प्रविधितर्फ उन्मुख भई नेतृत्वदायी भूमिका निर्वाह गर्न आग्रह गरेका छन् ।
उनले थपे, “चीनले उल्लेख्य मात्रामा आर्थिक वृद्धिलाई निरन्तरता दिनु आवश्यक छ । ती माथि उल्लिखित केही पक्ष तथा आर्थिक वृद्धिलाई निरन्तरता दिनु चीनका लागि चुनौती हुन्, तर ती पक्ष चीनका लागि अवसर पनि हुन् ।”
चीनले स्वच्छ ऊर्जा विकास गर्नका लागि महत्वकांक्षी योजना ल्याएको छ, जुन योजनाअनुरूप कार्बन उत्सर्जनको मात्रालाई सन् २०२० सम्म ४० देखि ४५ प्रतिशतसम्म न्यून पार्ने चीन सरकारको लक्ष्य छ । जसको स्तर सन् २००५ मा कायम कार्बन उत्सर्जनको मात्रा बाराबर हुनेछ ।  यद्यपि स्वच्छ ऊर्जा विकास गर्नका लागि चालिने कारखाना बन्दको कदम भने असफल बन्दै आएको छ ।
गत वर्ष चीनको आर्थिक वृद्धि १०.३ प्रतिशतका दरले भएको थियो, जुन विश्वव्यापी आर्थिक मन्दीपछिको सबैभन्दा द्रुत वार्षिक आर्थिक वृद्धि दर हो ।
विश्वका अधिकांश राष्ट्रले आर्थिक विस्तारलाई द्रुत बनाउने अनेकन कसरत गरिरहेका छन्, तर उता बेइजिङले तरलताको बाढी नियन्त्रण गर्न आर्थिक वृद्धि न्यून पार्ने प्रयास गर्दैछ । तरलताको बाढी अझ ठूलो भई मुद्रास्फीति बढ्न सक्ने सम्भावना उच्च बनेको छ ।
कारोबार दैनिक 

Saturday, March 12, 2011

यसरी भयो एटीएमको(ATM) विकास

 एटीएम अहिले सहरी क्षेत्रमा बसोबास गर्ने हरेक मानिसको आधारभूत आवश्यता बन्दै गएको छ। बैंक तथा वित्तीय संस्थाहरूले शाखाभन्दा पनि एटीएम जस्ता यन्त्रका माध्यमले सेवा दिन थालेपछि एटीएम प्रति सर्वसाधारणको आकर्षण दिनदिनै बढ्दो छ। न त बैंकसम्म पुग्ने समस्या, न त चेक लिएर लाइनमका बसिरहनुपर्ने झन्झट। आफूलाई पायक पर्ने ठाउँमा गएर मेसिनमा कार्ड घुसायो अनि आफूलाई हआवश्यक पैसा निकाल्यो। हअझ चौबीसै घन्दा सेवा पाइने भएकाले पनि एटीएमप्रतिको आकर्षण बढ्दो छ। यस्तो अद्भूत एटीएकम मेसिनको विकास कसरी भयो भनेर जिज्ञासा हुनु स्वभाविकै हो।
रिटेल बैंकिङमका सेल्फ सर्भिसको अवधारणा जापान, स्वीडेन, बेलायत र अमेरिकामा भएका विभिन्न प्रयासहरूका कारण विकास भएको पाइन्छ। अमेरिकाका लुथर जर्ज सिकमजनले पहिलो एटीएम मेसिन तयार पारेका थिए। तर त्यसबेला त्यो त्यति धेरै सफल धभने हुन सकेन। सिमजनले ३० को अन्त्यतिर नै एटीएम बनाउन सुरु गरेको बताइन्छ। उनले तयार पारेको एटीएमलाई ब्यांकोग्राफ नामकरण गरिएको थियो, जुन सन् १९६१ मा न्युयोर्क सिटीको सिटी बैंक अफ न्युयोर्कमा राखिएको थियो। तर ग्राहकहरूले नरुचाएपछि यसलाई ६ महिनापछि नै त्यहाँबाट निकालिएको थियो।
ब्यांकोग्राफमा सिक्का, रूपैयाँ र चेक लिने सुविधा थियो तर यसले अहिलेको एटीएमले झैं पैसा भने दिँदैनथ्यो। यद्यपि यस मेसिनले अमेरिकाका बैंकहरूलाई डिपोजिट लिने वैकल्पिक उपायको खोजी गर्न भने उत्प्रेरित गर्योय। त्यही बेला युरोप र एसियाको आवश्यकता भने डिपोजिट लिनेभन्दा पनि पैसा दिने मेसिन थियो।
पहिलो क्यास डिस्पेन्सिङ मेसिन सर्वप्रथम सन् १९६६ मा जापानको टोक्योमा प्रयोगमा आएको थियो। तर त्यसबाट खाताको पैसा नभई क्रेडिट कार्डमा रहेको पैसा निकाल्ने सुविधा मात्र थियो। त्यो मेसिनले पनि अन्तर्राष्ट्रिय बजारमा खासै उपलब्धी दिन सकेन। सन् १९६० को सुरुतिर निरन्तर प्रयासस्वरूप स्वीडेन र ब्रिटेनका इन्जिनियरहरूले आफ्नै एटीएम मेसिन बनाउन सफल भए। यसरी बनाइएको पहिलो मेसिन लन्डनमा रहेको बारक्लेस बैंकमा सन् १९६७ जुन २७ मा राखियो। मेसिनको अधिकतम प्रचार होस् भन्ने उदेश्यले बेलायतमै पहिलो चोटि प्रयोगमा ल्याइएको यस मेसिनको पहिलो प्रयोग प्रख्यात हास्य कलाकार रेग भार्नेलाई गराइएको थियो। यो आविष्कारको श्रेय जोन सेपर्ड बेरोनलाई दिइन्छ। यस मेसिनमा पिन नम्बरको आधारमा ग्राहकको पहिचान हुन्थ्यो। यद्यपि बैंक कार्डको भने त्यतिन्जेल विकास भइसकेको थिएन। एटीएम विकासका क्रममा तेस्रो मेसिन भने प्रविधि निर्माता कम्पनी स्पेटेक र मिडल्यान्ड बैंकको सहकार्यमा निर्माण गरी सन् १९६९ देखि युरोप र अमेरिकामा वितरण गर्न सुरु गरिएको थियो। यस मेसिनमा भने अहिलेकै जस्तो 'म्याग्नेटिक स्ट्राइप'सहितको कार्डको प्रयोग गर्ने सुविधा थियो। कार्डमै ग्राहकको नाम लगायत अन्य जानकारी समेत रहने व्यवस्था गरिएको थियो। कार्डमा स्टोर हुने पिन नम्बरको अवधारणा भने ब्रिटिस इन्जिनियर जेम्स गुडफेलोले सन् १९६५ मा विकास गरेका थिए।
युरोपमा भएको एटीएम विकासलाई अझ परिष्कृत रूपमा प्रस्तुत गर्ने क्रममा नेटवर्क सहितको एटीएम सन् १९६८ मा अमेरिकाका डोनाल्ड वेट्जेलले विकास गरे।
सुरुका एटीएममा कार्ड छिराएपछि निश्चित रकम मात्र निकाल्न मिल्थ्यो। एटीएमको विकासक्रम सँगै त्यसबाटै खातासम्बन्धी अन्य जानकारी समेत प्राप्त गर्न सकिने लगायतका सुविधासहितका एटीएमहरूको विकास भयो। नेटवर्कसहितको एटीएम विकासका कारण मास्टर, भिसा, अमेरिक एक्सप्रेस जस्ता नेटवर्क कम्पनीहरू अस्तित्वमा आए। अहिले त्यही नेटवर्कमार्फत् कुनै एक देशमा भएको बैंकको कारोबार एटीएम मेसिन मार्फत संसारभर गर्न सकिन्छ। एटीएम राखिएको स्थानबाहिर नेटवर्क कम्पनीहरूको बेग्लाबेग्लै लोगो त सबैले देखेकै हुनुपर्छ। तिनै मध्ये कुनै लोगो हामीले प्रयोग गर्ने कार्डमा समेत हुन्छ। यदि एटिएम लाउन्जबाहिर रहेको लोगो कार्डमा समेत छ भने उक्त कार्ड त्यो एटीएममा समेत गर्न मिल्छ। अहिले प्रायः सबैजसो एटीएम मेसिनमा संसारका मुख्य नेटवर्क प्रदायकहरूले जारी गर्ने कार्ड प्रयोग गर्न मिल्छ। नेपालमा एउटा एटीएम मेसिन जडान गर्नका लागि ६० लाख रूपैयाँभन्दा बढी पर्छ।

एसियामा बढ्दैछन्, अर्बपतिहरू

एसियाको नयाँ बढ्दो अर्थतन्त्रका अर्बपतिहरूले युरोपेली अर्बपतिहरूको संख्यालाई उछिनेको फोब्र्सले जनाएको छ । सो आर्थिक पत्रिकाद्वारा सार्वजनिक वार्षिक धनीहरूको सूचीअनुसार अर्बपतिहरूको संख्याको आधारमा अमेरिकापछि एसिया दोस्रो स्थानमा छ ।
शक्तिशाली एसियालीहरूले युरोपेली अर्बपतिहरूलाई पाखा लगाइदिएका छन् । युरोपको सबैभन्दा ठूलो अर्बपतिहरूको थलोका रूपमा रहेको रूसबाट उदाउँदा एसियाली राष्ट्रहरूमा अत्यधिक कच्चा पदार्थको माग आउन थालेको छ । यसले पनि त्यहाँका धनाढ्यहरूको वित्तीय अवस्था परनिर्भर रहेको संकेत देखिएको छ ।
“यो वर्ष चीनले वास्तवमै धेरै राम्रो गर्न सफल भयो,” फोब्र्सका वरिष्ठ सम्पादक लुइसा क्रोलले भनिन्, “एसियामा पहिलो पटक युरोेपको तुलनामा बढी अर्बपतिहरू देखिएका छन् ।”
एसियाली राष्ट्रहरूमा अर्बपतिको संख्या अधिक रहेकोमा चीन सबैभन्दा अघिल्लो पंक्तिमा परेको छ । अघिल्लो पटक फोब्र्सले सार्वजनिक गरेको धनीहरूको वार्षिक सूचीमा त्यहाँ जम्मा ६९ जना अर्बपति रहेकामा एक वर्षको अन्तरालपछि अहिले अर्बपति संख्या बढेर १ सय १५ पुगेको छ ।
यसैगरी हङकङमा अर्बपति संख्या २५ बाट बढेर ३६ पुगेको छ । भारतमा पनि अर्बपति संख्या बढ्ने क्रमले निरन्तरता पाएको छ । अघिल्लो वार्षिक प्रतिवेदनमा जम्मा ४९ जना अर्बपति रहेको भारतमा यो पटक ५५ जना पुगेका छन् ।

यसरी समग्रमा एसिया–प्रशान्तमा अर्बपति संख्या अघिल्लो पटक कायम अर्बपतिको संंख्या २ सय ३४ बाट बढेर ३ सय ३२ पुगेको छ । जसले युरोपका ३ सय अर्बपतिहरूलाई सजिलै उछिनेको छ ।
युरोपमा हाल रहेका ३ सयमध्ये १ सय १ जना अर्बपति रूसी छन् । जसमध्ये रूसको राधजानी सहर मस्कोमा मात्र ७९ जना अर्बपति बस्ने गरेको फोब्र्सले जनाएको छ, जसलाई औपचारिक रूपमै विश्वका अर्बपतिहरूको राजधानी पनि भन्ने गरिन्छ ।
एसियामा उल्लेख्य मात्रामा अर्बपतिहरूको उदय हुनुको रहस्य यस क्षेत्रको बढ्दो स्टक बजार र व्यवसायी–मैत्री सरकारको ठूलो योगदान रहेको क्रोलको भनाइ छ ।
उता युरोपमा रुसको कमोडिटी उद्योगले अर्बपतिहरूको संख्या बढाउन उल्लेख्य सहयोग गरेको हो । मुख्यगरी कच्चा पदार्थ तथा विलासी सामग्रीका भोका एसियाली राष्ट्रहरूमा माग बढ्ने क्रमले निरन्तरता पाएकोले गर्दा ती कमोडिटीमा आधारित रुसी अर्बपतिहरूको सम्पत्ति बढेको हो ।
“यदि तपार्इं संघाई बस्न जानुहुन्छ भने आजको दिनमा धनी हुन धेरै सहज छ । यदि म २२ वर्षको भएँ र एउटा उद्यमी भने मैले कर्मचारी तन्त्रको बारेमा बोल्न सक्थेँ”, क्रोलले भनिन् ।
विश्वकाज्ञे सबैभन्दा ठूलो अर्थतन्त्र भएको अमेरिकामा यो ब्रह्मान्डकै सबैभन्दा धनी व्यक्तिहरूको बसोबास छ । अमेरिकामा अर्बपति संख्या ४ सय १३ पुगेको छ, तर उनीहरूको हिस्सा क्रमशः घट्दै आएको छ जसले गर्दा एसियाली अर्थतन्त्रको उदयले स्वागत पाएको छ अर्थात् बर्सेनि एसियालीहरूको अंश उच्च बन्दै गएको छ ।
एक दशकपहिले विश्वका कुल अर्बपतिहरूमध्ये आधाभन्दा बढी अमेरिकी नागरिक थिए । जबकि अहिले आएर अमेरिकी अर्बपति संख्या विश्वको कुल अर्बपति संख्याको एकतिहाइ मात्र कायम छ ।
व्यक्तिगत सेयर हिस्साको आधारमा यो वर्ष पनि लगातार दोस्रो पटक मेक्सिकन टेलिकम व्यवसायी कार्लोस स्लिम हेलु विश्वको सबैभन्दा धनी व्यक्तिको स्थानमा उभिएका छन् । सामान्यतया मेक्सिको बाहिरका नागरिकहरूको बारेमा खासै ज्ञान नभएका स्लिमको खुद सम्पत्ति बढेर ७४ अर्ब अमेरिकी डलर पुगेको छ । एक वर्षभित्र उनको सम्पत्ति २०.५ अर्ब डलर उच्च बनेको हो ।
यसैगरी विश्वका सर्वाधिक धनीहरूको सूचीमा दोस्रो स्थानमा माइक्रोसफ्टका संस्थापक बिल गेट्स परेका छन् । उनको खुद सम्पत्ति ५६ अर्ब डलर पुगेको छ । ठूलो मात्रामा परोपकारी कोषमा रकम वितरण गरेको कारणले गेट्सको सम्पत्ति उच्च बन्न नसकेको फोब्र्सले जनाएको छ ।
विश्वका तेस्रो धनी व्यक्तिको स्थानमा अमेरिकी लगानी गुरु वारेन बफेट परेका छन्, भने चौथो स्थानमा फ्रान्सेली नागरिक बर्नार्ड अर्नोल्ट उभिएका छन् । यी दुवैको सम्पत्ति क्रमशः ५० अर्ब डलर र ४१ अर्ब डलर कायम छ ।
यो वर्ष विश्वभरिका अर्बपतिहरूको संख्याले नयाँ रेकर्ड बनाएको छ । अघिल्लो वर्ष कायम १ हजार ११ अर्बपति संख्या यो वर्ष बढेर १ हजार २ सय १० पुगेको फोब्र्सका प्रधान सम्पादक स्टिभ फोब्र्सले बताएका छन् ।
“विश्वव्यापी अर्थतन्त्रमा सुधार हुँदै आएको छ, तर सुधारको गति स्थानमा समान छैन,” फोब्र्सले भने, “धनीहरूको सूचीले विश्व अर्थतन्त्रमा अतिरिक्त परिवर्तन आइरहेको प्रतिविम्बित गरेको छ ।”
अहिले पनि विश्वका अधिकांश क्षेत्रमा पछिल्लो विश्वव्यापी आर्थिक मन्दीको प्रभाव कायमै रहेको छ  । पहिलो पटक विश्वका धनीहरूको सूची मन्दीको वास्तविकता अनुभव गर्दै सार्वजनिक भएको छ, तर फोब्र्सका सम्पादकहरूले सूचीमा परेका अधिकांश अर्बपतिले कठिनाइ तथा असफलतालाई पन्छाउँदै सम्पत्ति कमाउन सफल भएको बताएका छन् ।

Thursday, January 13, 2011

विश्वकै सबैभन्दा समृद्ध जनताको देश मोनाको


विश्वकै सबैभन्दा समृद्ध जनताको देश कुन होला ? तपाईंहरूको उत्तर हुन सक्छ अमेरिका, जापान वा यस्तै–यस्तै । हुन पनि कुल जीडीपी लगभग १५ ट्रिलियन डलर रहेको अमेरिका विश्वकै सबैभन्दा ठूलो जीडीपीको देश हो । त्यसपछि ५ ट्रिलियलन डलरका साथ चीन दोस्रो स्थानमा छ । जीडीपीको आकारमा यी दुई देश ठूला भए पनि प्रतिव्यक्ति आय भने अन्य देशहरूको बढी छ र तपाईंको उत्तर गलत हुनेछ । विश्वकै सबैभन्दा समृद्धि जनताको देश हो— मोनाकोे । सन् २००९ का लागि विश्व बैंकले तयार पारेको प्रतिव्यक्ति आयका आधारमा मोनाकोका जनताको प्रतिव्यक्ति आय २ लाख ३ लाख ९ हजार छ । यसपछि दोस्रो समृद्ध जनताको देशमा लिचेस्टाइन रहेको छ । विश्व बैंकका अनुसार २००९ मा लिचेस्टाइनको प्रतिव्यक्ति आय १ लाख १३ हजार २ सय १० छ । यसपछि क्रमशः लक्जेम्बर्ग, नर्वे, डेनमार्क, आयरल्यान्ड, सान मारिनो, नेदरल्यान्ड, अमेरिका र अस्ट्रेलिया छन् । जीडीपीको आधारमा सबैभन्दा समृद्ध देश अमेरिका भए पनि प्रतिव्यक्ति आय ४६ हजार ४ सय ३६ का साथ उसको स्थान नवौं छ । हाम्रो छिमेकी देश चीन पनि जीडीपीको आधारमा विश्वको दोस्रो ठूलो देश भए पनि उसको प्रतिव्यक्ति आय ३ हजार ७ सय डलरका साथ धेरै पुछारमा पर्न आउँछ । उसको प्रतिव्यक्ति आय दक्षिण एसियाली राष्ट्र मालदिभ्सको ४ हजार ३ सय ८४ भन्दा पनि कम छ ।

प्रतिव्यक्ति आयका अधारमा सबैभन्दा गरिब जनता भएको देश भने जाम्बिया हो । उसको प्रतिव्यक्ति आय ४ सय ३० डलर मात्र छ । सबैभन्दा कम प्रतिव्यक्ति आयका आधारमा गरिब जनता भएको सबैभन्दा पुछारका दश देशमा नेपाल पनि परेको छ । नेपालको प्रतिव्यक्ति आय ४ सय २७ डलर रहेको विश्व बैंकको २००९ को सूचीमा उल्लेख गरिएको छ । बैंकका अनुसार नेपालभन्दा पछाडि जम्मा ७ देशमात्र रहेको छ । जम्बियापछि मोजाम्बिक (४२८), नेपाल (४२७), नाइजर (३५२), इथियोपिया (३४५), सियोरालियोन (३४१), मलावी (३२६),  लाइबेरिया (२२२),  कंगो (१६४) र  बुरुन्डी (१६३) छन् ।

Monday, January 10, 2011

मासिक १५ हजार ल्यापटप खपत

विश्वमा ल्यापटपका नयाँ–नयाँ ब्रान्ड उत्पादन हुने क्रमले गति लिइरहँदा त्यसको प्रभाव नेपालमा पनि परेको छ । पछिल्लो समय नेपालमा ल्यापटप प्रयोगकर्ताको संख्यामा उलेख्य वृद्धि भएको छ । लोडसेडिङका समयमा पनि प्रयोग गर्न सकिने,
उत्पादकहरूबीचको प्रतिस्पर्धाले सस्तो बन्न पुगेको मूल्य, साना र प्रयोगमैत्री हुने ल्यापटपको बिक्री, सरल र सहज भएकाले ल्यापटप प्रयोगकर्ता बढेका हुन् ।  
नेपालमा सधैंभरि हुने लोडसेडिङले ल्यापटपप्रति आकर्षण बढेको हो ।
सूचना र प्रविधिको विकाससँगै ल्यापटप प्रयोगले काम सहजमात्र नभएर समयको बचत, छिटोछरितो, विश्वसनीयसमेत भएपछि पछिल्लो समयमा विद्यार्थी, कर्मचारी, शिक्षक, पत्रकार, व्यापारीलगायतले डेक्सटप छोड्दै ल्यापटप प्रयोग गर्न थालेका छन् । मासिक १५ हजारको हाराहारीमा नेपालमा ल्यापटप खपत हुँदै आएको छ । न्यूनतम ६ हजार रुपैयाँदेखि २ लाख रुपैयाँसम्मका ल्यापटप नेपालमा प्रयोग हुने सम्बद्ध व्यवसायीहरूले बताएका छन् ।

हाल साना ल्यापटपको माग मासिक १ सय ५० को हाराहारीमा छ । ‘बेलिया’ नेपाली ब्रान्ड र चीनमा बनेको यो ल्यापटपमा ३ घन्टा ब्याट्री ब्याकअप गर्ने क्षमता भएपछि थप आकर्षण बढेको हो । लोडसेडिङ बढ्दै गएपछि कम्प्युटरका प्रयोगकर्ता ल्यापटपबाट लाभान्वित हुन थालेकाले यसको व्यापार पनि बढेको सागर इन्फोसिसले जनाएको छ । डेक्सटप एकैठाउँ राख्नुपर्ने, लोडसेडिङका समयमा काम गर्न नसकिने भएपछि ल्यापटपमा ग्राहकको चासो बढ्न गएको हो ।
नेपालमा प्रचलनमा आएका ल्यापटपमध्ये डेल, एचपी, एसर, तोसिवा, एमएसआई, फुजित्सु, बेन्क्यु, हासीलगायत छन् ।  
गत वर्षको क्यान इन्फोटेक मेलादेखि ६ हजार ५ सय रुपैयाँमा मिनी ल्यापटप नेपालमा बिक्री सुरु गरिएपछि ग्रामीण क्षेत्रमा समेत यसको पहुँच बढ्दै गएको छ । पहिलो पटक नेपालमा ल्याउँदा माग अत्याधिक बढ्न गई माग धान्न कठिन भएको आईसीटी एसोसिएसन अफ नेपालका अध्यक्ष सागरदेव लाखेले बताए । “गत वर्ष कतिपयले हल्लाको भरमा मिनी ल्यापटप किने पनि हाल आएर प्रयोग नभएको अवस्था भएकाहरूलाई भोलिदेखि हुने आईसीटी इन्फोटे«ड मेलामा सानोसँग ठूलो ल्यापटप साटफेर गर्न सकिनेछ,” अध्यक्ष लाखेले भने ।  
विदेश भ्रमणमा जाँदा ल्यापटप लिएर आउने क्रम पनि बढेको छ । ल्यापटपका नयाँ–नयाँ ब्रान्डले सूचना प्रविधिको विकासमा थप सहयोग पुगेको छ । साना तथा मझौला खालका ल्यापटप बजार आएपछि यसका प्रयोगकर्ता पनि बढेका बढ्यै छन् ।  
नेपालमा मासिक १५ हजार ल्यापटप बिक्री हँुदै आएको छ । देशका अन्य भागमा यसका प्रयोगकर्ता कम भए पनि राजधानीमा ल्यापटप प्रयोगकर्ताको औसत संख्या भने धेरै छ । देशभरका ल्यापटप प्रयोगकर्तामध्ये झन्डै ८५ प्रतिशत जनसंख्या राजधानीमा रहेको पनि यससम्बद्ध व्यवसायीको अनुमान छ ।  नेपालमा ल्यापटप विक्रेताको संख्या करिब ४ सय ५० को  हाराहारीमा रहेको र त्यसमध्ये २ सय राजधानीमा र २ सय ५० ले राजधानी बाहिर कारोबार गर्ने गरेको कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) ले जनाएको छ ।  
सरस्वती ढकाल
साभार : कारोबार दैनिक

Wednesday, January 5, 2011

फेसबुकको मूल्य ५ सय करोड अमेरिकी डलर


केही दिनअघि मात्रै सार्वजनिक भएको एउटा रिपोर्टका अनुसार फेसबुकमा हालै भएको नयाँ लगानीपछि यो विश्वप्रसिद्ध सामाजिक सञ्जालको मूल्य ५ सय करोड अमेरिकी डलर पुगेको छ । गोल्डम्यान स्याक्स र एक जना नाम नखुलाइएका रसियाली लगानीकर्ताले यो सञ्जालमा करिब ५ सय करोड रुपैयाँ लगानी गरेको समाचार सार्वजनिक भइरहेका छन् । तर बीबीसीले भने यसमा गोल्डम्यानको ४ सय ५० करोड र अर्का लगानीकर्ता डिजिटल स्काइ टेक्नोलोजिजको ५० करोड अमेरिकी डलर लगानी भएको छ ।

न्युयोर्क टाइम्सका अनुसार यो नयाँ लगानीसँगै फेसबुकको लगानी टाइम वार्नर,  इबे र यहूकोभन्दा धेरै हो । लगानीले टाइम पत्रिकाका वर्ष व्यक्तिसमेत बनेका फेसबुकका संस्थापक मार्क जुुकरवर्गलाई सार्वजनिक कम्पनीका रूपमा आफ्नो कम्पनीलाई परिणत गर्नुपर्ने दबाब सिर्जना भएको छ । अमेरिकी धितोपत्र विनिमय कमिसनको (सेक) नियमअनुसार कुनै पनि कम्पनीमा लगानी गर्नेको संख्या ४ सय ९९ पुगेमा त्यस्तो कम्पनीले आफ्नो वित्तीय विवरण सार्वजनिक गर्नुपर्ने हुन्छ ।
गोल्डम्यानलाई एउटा लगानीकर्ताका रूपमा गनिने भए पनि यसले धेरै लगानीकर्ताबाट रकम जम्मा गर्ने गरेको छ । गोल्डम्यान संस्थागत लगानीकर्तालाई जम्मा पारेर विभिन्न धितोपत्र, कम्पनी तथा अन्य वित्तीय औजारहरूमा लगानी गर्ने कम्पनी हो । सेकको दबाब फेसबुकलाई आफ्नो प्राथमिक सेयरको सार्वजनिक निष्कासन गर्न पर्याप्त हुन सक्ने र यसले फेसबुकलाई भविष्यको एउटा कुनै समयमा त्यो कदम चल्न बाध्य पार्ने पनि विभिन्न विश्लेषकहरूले अनुमान गरेका छन् ।
साभार : कारोबार दैनिक