Showing posts with label Butwal. Show all posts
Showing posts with label Butwal. Show all posts

Saturday, May 14, 2011

लुम्बिनीका उत्कृष्ट होटल तथा रिसोर्टहरू

यसपटक नजिकिँदै गरेको बुद्धजयन्तीका दिन तपाईंले आफ्नो गन्तव्य विश्व शान्तिका अग्रदूत भगवान गौतमबुद्ध जन्मस्थल लुम्बिनीलाई छान्नुभएको छ र त्यहाँ गएर तपाईंहरू कहाँ बस्ने भनेर हतारिनु भएको छ भने तपाईंहरू आत्तिनु पर्दैन । लुम्बिनीमा तपाईंहरूको बजेटअनुसार एकसेएक होटलहरू सञ्चालित छन् ।
यस पटकको गन्तव्यमा हामीहरूले लुम्बिनीमा सञ्चालित उत्कृष्ट होटल तथा रिसोर्टहरूका बारेमा केही जानकारी पस्केका छौं । लामो दूरी तय गरेर तपाईं लुम्बिनी पुग्दा त्यहाँका होटलहरूले पस्कने आतिथ्यता, सेवा र सुविधाबाट तपाईं प्रसन्न हुने मात्र होइन यात्राका क्रममा भएका थकानहरू पूरा हुनेछन् ।
लुम्बिनीमा पर्यटकीय स्तरीय तथा साना ठूला गरी दुई दर्जन होटल छन् । ठूलास्तरीय होटलहरूले पनि नेपालीहरूको खर्चले भ्याउने गरी कोठाहरू उपलब्ध गराइरहेको लुम्बिनीमा अवस्थित सबैभन्दा पुरानो जापानीज होटल होक्केका प्रबन्ध निर्देशक सुभाष शर्माले बताए । नेपाल पर्यटन वर्ष–२०११ लाई लक्षित गर्दै लुम्बिनीका होटलहरूले आन्तरिक पर्यटकलाई समेत लक्षित गरी सेवा सुविधा उपलब्ध गराइरहेको शर्माले बताए । २५ वर्षअघिदेखि सञ्चालित होक्के होटलमा जापानीज शैलिका २० र पश्चिमेली शैलीका ७ गरी २७ कोठा छन् । होटलमा मेडिटेसन सेन्टर, जापानीज स्पा(उफुरो) जापानी परिकारका साथै थाई, कन्टिनेन्टल, चाइनिज र नेपाली शैलीका परिकार उपलब्ध रहने शर्माले बताए । करिब ३ बिघा क्षेत्रफलमा फैलिएको होटलमा चारैतिर रहेको हरियालिले थप आकर्षण दिएको छ ।
लुम्बिनीमै अर्को स्तरीय होटल पार्क भिलेज होटल एन्ड रिसोर्ट (पुरानो बुद्धमाया होटल)ले त विद्यार्थीहरूलाई सहुलियत दरमा कोठा उपलब्ध गराउँदै आएको  छ । रिसोर्टका प्रबन्धक सुरज गुरुङले सहुलियत दरमा दैनिक १० कोठा  विद्यार्थीलाई उपलब्ध गराइरहेको बताए । पार्क भिलेजमा अहिले ५० कोठा रहेको र छिटै ३० कोठा थपिने प्रबन्धक गुरुङले बताए । रिसोर्टमा लोटस पोन्ड, मेडिटेसन सेन्टर, बर्च वाचिंग लबी, दुई रेस्टुरेन्ट, ४ वटा अपार्टमेन्ट भान्छा उपलब्ध छन् ।
उता नेपाली पर्यटकलाई आकर्षित गर्न बाँसैबाँसले बनेको लुम्बिनी ब्याम्बो रिसोर्टले पनि सहुलियत दरमा स्तरीय कोठाहरू उपलब्ध गराउँदै आएको सञ्चालक जुजु भाइ शाक्यले बताए । नेपाली पर्यटकले नै हाम्रो रिसोर्टमा गन्तव्य बनाइरहेको उनको भनाइ छ । रिसोर्टमा २५ वटा कोठाहरू छन् आकर्षिक गार्डेन, रेस्टुराँ, मेडिटेसन कोठा, सभा कक्षको समेत सुविधा छ भने सबै कोठाहरू छन् । रिसोर्टले नेपाल पर्यटन वर्षलाई लक्षित गरी अन्य भौतिक पूर्वाधारसमेत बनाइरहेको शाक्यले बताए । उनले अतिरिक्त कोठा, स्वीमिङपुल, टेनिस कोर्टलगायतका विभिन्न सुविधासहितको पूर्वाधार रिसोर्टमा तयार भइरहेको जनाए । कंक्रिटको घरै घर हेरेर हैरान परेका स्वदेशी र विदेशीहरूलाई यो लुम्बिनी ब्याम्बो रिसोर्टले पहिलो नजरमै फरक अनुभूति पस्कने शाक्यको भनाइ छ ।

 उता एक वर्ष अघिदेखि  सञ्चालनमा आएको लुम्बिनीको एक मात्र तीनतारे होटल लुम्बिनी कासाईले पनि नेपाली पर्यटकलाई लक्षित गरी सेवा सुविधा दिएका छन् । यो क्षेत्र बौद्धमार्गी मात्र नभई  विश्वभरिका शान्तिकामीहरूको पवित्रस्थल भएकाले यहाँ आउने पर्यटकहरूलाई सुविधाजनक र आरामदायी बसोबासको मध्यनजर गरी नाफाभन्दा पनि सेवालाई ध्यानमा दिई होटल सञ्चालनमा ल्याइएको लुम्बिनी कासाईका प्रबन्ध निर्देशक केन्टा नागाईले बताए  । १३ एकड क्षेत्रफलमा फैलिएको होटलमा दुइटा  भीभीआईपीसहित ३० वटा कोठा छन् एक पटकमा ६० जनाले रात बिताउन सक्नेछन् ।
होटलमा जापानीज स्टाइलको रेस्टुरेन्टसमेत बनाइएको छ भने युरोपियन स्टाइलको रेस्टुरेन्टसमेत छ । जापानीज पर्यटक मात्र नभई अन्य युरोपियन तथा एसियन मुलुकका बौद्धमार्गीहरू लक्षित ग्राहक रहेको होटलका नेपालस्थित  प्रतिनिधि तथा कानुनी सल्लाहकार डा. तारा सापकोटाले जनाए । होटलमा जापानी, चाइनिज, इन्डियन, कन्टिनेन्टल, मिक्सका साथै नेपाली खानाको व्यवस्था छ ।
लुम्बिनीमा रहेको अर्को स्तरीय होटल  न्यू–क्रिस्टल हो । नेपाली तथा बिदेशी पर्यटकका लागी आकर्षक गन्तव्यका रूपमा रहेको यो होटलमा मेडिटेसन हल, कन्फ्रेन्स हल, बातानुकुलित कोठा,स्तरीय रेस्टुराँ छन् । होटलमा  नेपालीहरूका लागि सहुलियत दर कायम गरिएको होटलका प्रबन्धक पुष्प रत्न तुलाधरले बताए ।
 यीबाहेक लुम्बिनीमा हालै सञ्चालनमा आएको पिस ल्यान्ड होटललाई पनि तपाईंले गन्तव्य बनाउन सक्नुहुन्छ । पिस ल्यान्ड नेपाली पर्यटकलाई लक्षित गरी होटल सञ्चालन गरिएको सञ्चालक प्रवीन शाक्यले बताए । त्यस्तै लुम्बिनीमा सिद्धार्थ होटल, बुद्धमाया गेस्टहाउसलगायत दुई दर्जन  होटल, रिसोट, गेस्टहाउस सञ्चालनमा छन् ।
कारोबार दैनिक

Friday, April 29, 2011

कोरिया जाने लाई १० % छुट

ईपीएस प्रणालीमार्फत दक्षिण कोरिया जान भाषा परीक्षाको आवेदन फारम भर्न बुटवल आउनेहरुलाई बुटवलका होटेल व्यवसायीहरुले खाना तथा आवासमा १० प्रतिशत छुट दिने भएका छन् । बुटवलमा पहिलोपटक आवेदन फारम वितरणको अगुवाई गरेको  नेपाल कोरिया विकास परिषद् रुपन्देहीको अनुरोधमा होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ बुटवलले पत्रकार सम्मेलनमार्फत छुट दिने निर्णय गरेको हो । यही बैसाख १९ देखि २२ गतेसम्म कोरिया भाषा परीक्षाको आवेदन फारम बुटवल रामनगरस्थित बुटवल मण्डपबाट वितरण हुंदैछ । देशका विभिन्न भागबाट आउनेहरुलाई थोरै भएपनि राहत पुगोस् भनेर परिषदको आग्रहमा प्रचलित दर रेटमा १० प्रतिशत छुट दिने निर्णय गरेको होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ बुटवलका अध्यक्ष प्रेमलाल पाण्डेले बताउनु भयो । छुट नदिने र उल्टै प्रचलित दर भन्दा बढी रकम लिने व्यवसायीलाई आवश्यक कारवाही समेत गरिने संघले जनाएको छ ।
आवाज बिहिनको आवाज

बुटवलमा नेपालकै सबैभन्दा ठूलो अन्तराष्ट्रिय सम्मेलन केन्द्र निर्माण हुने

बुटवलमा नेपालकै सबैभन्दा ठूलो अन्तराष्ट्रिय सम्मेलन केन्द्र निर्माण हुने भएको छ । बुटवलल नगरपालिका १२ स्थित  बुटवल मण्डपमा बहुबर्षिय योजना अन्तर्गत सरकारले निकट भविष्यमा अत्याधुनिक अन्तराष्ट्रियस्तरको  सम्मेलन केन्द्र निर्माण गर्ने योजना तय गरेको हो। आज  बुटवल नगरपालिकामा सम्मेलन केन्द्रको कन्सेप्ट मास्टर प्लानको बारेमा जानकारी गराउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा यस्तो जानकारी दिईएको हो । ७८ करोड लगानीमा निर्माण सम्पन्न गर्ने योजना अनुरुप अहिले सम्मेलन केन्द्रको ‘मास्टर प्लान’(गुरु योजना) लाई अन्तिम रुप दिईने काम भईरहेको शहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ ।
 ४ सय ५० मिटर लम्बाई र २ सय ५० मिटर चौडाईको क्षेत्रफलमा केन्द्रको निर्माण गरिने छ । जसमा १ सय ५० मिटर  मोहोडामा सिटि हल निर्माण गरिने छ । कन्सेप्ट मास्टर प्लान का बिषयमा आयोजित छलफल कार्यक्रममा रक्षामन्त्रि विष्णु पौडेलले बुटवलमा अत्याधुनिक र अन्तराष्ट्रिय स्तरको सम्मेलन केन्द्र  निर्माणका लागि सरकारले सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । उहाले केन्द्रलाई गौतम बुद्ध अन्तराष्ट्रिय सम्मेलन केन्द्रको रुपमा नामाकारण गर्न समेत स्थानियसंग प्रस्ताव गर्नुभएको छ । शहरी विकास तथा निर्माण विभागका विनय चरण श्रेष्ठले मास्टर प्लानको बारेमा व्रिफिङ गर्दै बुटवलको विकास र प्रतिष्ठाको लागि सम्मेलन केन्द्रले महत्वपुर्ण टेवा पुयाउने दावी गर्नुभयो ।  नगरपालिकामा आयोजित मास्टर प्लान  व्रिफिङ कार्यक्रममा राष्ट्र बैंकका गर्भनर डा.युवराज खतिवडा,शहरी विकास तथा भवन निर्माण योजनाका अधिकृत,नगरपालिकाका अधिकारी सहित स्थानिय उद्योगि ब्यवसायिहरुको उपस्थिति रहेको थियो । 
आवाज बिहिनको आवाज

Saturday, March 12, 2011

लुम्बिनीमा अब बुद्धकालीन हरियाली

गौतम बुद्धको जन्मस्थल लुम्बिनी, तिलौराकोट र मावली रामग्राम (नवलपरासी) मा २५ सय वर्षअघि कुन प्रजातिका रूख थिए होलान् ? तीमध्ये कति प्रजाति बाँकी होलान् ?
एकिन तथ्यांक वन मन्त्रालय र सम्बन्धित जिल्ला वन कार्यालयसँग पनि छैन । तर अनुसन्धानकर्ताहरूले बुद्धकालीन अवस्थाका धेरै रूखका प्रजाति लुम्बिनीबाट हराइसकेको बताएका छन् ।
जर्मनीलगायत विभिन्न मुलुकका अनुसन्धानकर्ताको अध्ययनले सिसौबाहेक त्यतिबेलाका धेरै प्रजातिका रूख/बिरुवा हराइसकेको निष्कर्ष निकालेका छन् । त्यसैले लुम्बिनीलाई बुद्धकालीन रूखका प्रजातिहरूले फेरि हराभरा बनाउने प्रयास थालिएको छ ।
वन तथा भूसंरक्षण र संस्कृति मन्त्रालयका साथै लुम्बिनी विकास कोष त्यो अभियानमा छन् । गौतम बुद्धको समयका पीपल, कदम, जामुन, सीता अशोक, बरलगायत औषधिजन्य र अन्य साधारण वनस्पतिका बिरुवा लुम्बिनी क्षेत्रमा अब रोपिनेछ ।

पर्यटन वर्ष र अन्तर्राष्ट्रिय वन वर्षको अवसरमा बुद्धकालीन रूखका प्रजाति लगाउन अभियान थालिएको हो । 'लुम्बिनी क्षेत्रमा बुद्धकालीन परिवेश निम्त्याउन खोजिएको हो,' वन मन्त्रालयका सचिव युवराज भुसालले भने, 'त्यसो हुँदा अन्तर्राष्ट्रियस्तरमा लुम्बिनीको महत्त्व बढाउन मद्दत पुग्छ ।' सरकारले सन् २०११ लाई 'प्लान्ट होलिडे' घोषणा गर्दै काँचा रूख नकाट्न भनेको छ ।
वन मन्त्रालय मातहतको वन र वनस्पति विभागका साथै तराई भूपरिधि कार्यक्रम (ताल) ले ती बिरुवा उपलब्ध गराउनेछ भने पुरातत्त्व विभाग र लुम्बिनी विकास कोषले ठाउँ पहिचान गर्नेछन् ।
यही आर्थिक वर्षभित्र कपिलवस्तुको लुम्बिनी र तिलौराकोट, रूपन्देही र नवलपरासी (रामग्राम) मा बुद्धकालीन रूखका प्रजाति लगाउन थालिने वन सचिव भुसालले बताए । 'लुम्बिनी क्षेत्रमा बुद्धको समयको वातावरणलाई ब्युँताउने प्रयास हो,' भुसालले भने ।
लुम्बिनी विकास कोषका सदस्य सचिव राजेन्द्रबहादुर थापा मगरले लुम्बिनीको गुरुयोजना तयार गर्दा प्रा.केन्जो ताङ्गेले लुम्बिनीको ६० प्रतिशत हरियाली क्षेत्र बनाउने उल्लेख गरेकाले त्यसलाई कार्यान्वयन गर्न बुद्धकालीन रूखहरू रोप्न लागेको बताए ।
कांतिपुर

Saturday, February 26, 2011

रुपन्देहीको बजेट सवा ३ अर्ब



रूपन्देही जिल्ला विकास समितिले आर्थिक वर्ष २०६८/६९ का लागि ३ अर्ब २१ करोड ८९ लाख ७ हजार रुपैयाँबराबरको अनुमानित आयव्यय सार्वजनिक गरेको छ ।
भैरहवामा सम्पन्न १८ औं जिल्ला परिषद्मा स्थानीय विकास अधिकारी ताराबहादुर कार्कीले अनुमानित आयव्यय सार्वजनिक गर्दै विकास निर्माण, शिक्षा, स्वास्थ्यलगायतलाई प्राथमिकतामा राखिएको बताए । चालू त्रिवर्षीय योजना, राष्ट्रिय योजना आयोग र विषयगत मन्त्रालयबाट प्राप्त निर्देशन एवं मार्गदर्शन तथा स्थानीयस्तरबाट प्राप्त सुझावहरूका आधारमा योजना तर्जुमा गरिएकोे कार्कीले जनाए ।
उनले जिल्लाका निक्षेपित कार्यालय एवं विषयगत कार्यालयहरूको १ अर्ब ९४ करोड ७८ लाख २७ हजार, गैरसरकारी संस्थाहरूको २४ करोड ९२ लाख ७२ हजार र नेपाल सरकार तथा अन्य निकायबाट योजना सञ्चालनका लागि प्राप्त १ अर्ब २ करोड १८ लाख ८ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेका हुन् ।

परिषद्मा जिल्लाको कुल अनुमानित व्यय २ अर्ब ८६ करोड ३६ लाख ६० हजारमध्ये चालूतर्फ १ अर्ब २६ करोड ९१ लाख ९१ हजार र पुँजीगततर्फ १ अर्ब ७० करोड ४ लाख ४३ हजार छ ।
 जिविसको कुल व्यय १ अर्ब २ करोड १८ लाख आठ हजारमध्ये चालूतर्फ २८ करोड ७६ लाख २५ हजार र पुँजीगततर्फ ७३ करोड ४१ लाख ८३ हजार विनियोजन गरिएको छ ।
पुँजीगत एवं प्रवद्र्धनात्मक कार्यक्रमतर्फ जनसहभागितामा आधारित सडक कालोपत्रे, कृषि सडक निर्माण, पुल कभर्ट निर्माण, विद्युतीकरण, कृषि उपज संकलन केन्द्र, जिल्लास्तरीय सडक कालोपत्रे, सिँचाइ, नदी नियन्त्रण, एवं तटबन्ध, वन वातावरण संरक्षण तथा वृक्षारोपण कार्यालय व्यवस्थापनलगायतका कार्यक्रम प्राथमिकतामा रहेको छ ।
 यसैगरी, झोलुंगे पुल निर्माण, ग्रामीण खानेपानी तथा सरसफाइ कार्यक्रम, सामाजिक परिचालन गरिबी न्यूनीकरण, विद्यालय भवन निर्माण, सामुदायिक भवन निर्माण, निकासी एवं अन्य सडकहरू मर्मत–सम्भार गर्नेलगायत अन्य योजनाहरू सञ्चालन गरिने जनाइएको छ ।
कार्कील बजेट सार्वजनिक गर्ने क्रममा पर्यटन वर्ष २०११ लाई सफल बनाउन जिविसले विभिन्न कार्यक्रम गर्नेसमेत जनाए । 
मनोरञ्जन शर्मा

Wednesday, February 23, 2011

बृहत जडिबुटी उद्योग खोल्ने सपना

अमर गैरे शिवशक्ति आरोग्य हर्बल उद्योग, पाल्पा

पाँच वर्षअघिसम्म मेरो जीवनशैली बेग्लै थियो । म साधारण जीवन बाँच्थें ।
आईकम उत्तीर्ण भए पनि पढाइअनुसारको सीप थिएन । तर, समयक्रमसँगै ममा
प्राकृतिक जडिबुटीसम्बन्धी ज्ञान बढ्यो । गाउँघरमा पाइने विभिन्न जडिबुटीलाई औषधि बनाउने सीप सिकें । अहिले मसँग ७ सय २० जडिबुटीसम्बन्धी ज्ञान छ । ६ सय ६५ जडिबुटीको अनुसन्धान म अहिले पनि गरिरहेको छु ।

मैले जडिबुटीबाट स्पेसल चिया, मुटु, पाठेघर, ग्यास्ट्रिक, अल्सर, मृगौला, जन्डिस, दम, फोक्सो, युरिक एसिड, पत्थरी, मधुमेह, पेट, नसा, बाथ, मस्तिस्क क्यान्सरलगायतका रोगको औषधि बनाएको छु । मैले बनाएका औषधि गाउँलेहरूलाई निःशुल्क प्रयोग गर्न दिन्थें । उनीहरूका रोगहरू क्रमशः निको हुँदै गएपछि ममा उत्साह आयो । मैलै बढीभन्दा बढी औषधि उत्पादन गरेर यो कामलाई निरन्तरता दिँदै गएँ ।

सेवाभाव रहेकाले मैले बिरामीलाई निःशुल्क उपचार गर्ने गरेको छु । व्यवसायलाई कानुनी मान्यता दिन औषधि विभाग र आयुर्वेद विभागसँग परामर्श लिई डेढ वर्षअघि गुणस्तर विभागको स्वीकृतिबाट उद्योग चलाएको छु । घरेलु तथा साना उद्योग कार्यालयमा शिवशक्ति आरोग्य हर्बल उद्योग नाममा दर्ता गराएर व्यावसायिक कारोबारसमेत सुरु गरेको छु ।
यो उद्योग स्थापनामा मेरो ३० लाख रुपैयाँ लगानी लागेको छ । उद्योगमा अहिले नौ जनाले रोजगारी पाएका छन् । उनीहरूलाई दैनिक २ सय रुपैयाँ ज्याला दिन्छु । गत वर्ष आयुर्वेद औषधिको कारोबारबाट १७ लाख रुपैयाँ कमाउन सफल भएँ ।
पाल्पा, गुल्मी, स्याङ्जा, रुपन्देही, अर्घाखाँचीलगायतका जिल्ला तथा भारतबाट समेत आएका  १६ हजारभन्दा बढी बिरामीलाई प्रत्यक्ष उपचार तथा औषधिमुलो गरिसकेको छु । बिरामीको रोग निको नभए आधा पैसा फिर्ता दिने गरेकाले मेरो व्यवसायप्रति ग्राहकको आकर्षण बढेको हो ।
मैले १ सय ८ जडी स्पेसल चियासमेत बनाउने गरेको छु । देशभरिबाट यसको भएकाले मागअनुसार उत्पादन गर्न सकिएको छैन । निकट भविष्यमै गाउँमा बृहत् जडिबुटी उद्योग सञ्चालन गरी स्थानीय युवालाई रोजगारी दिने मेरो योजना छ । मैले मेहनतअनुसार औषधिको मूल्य निर्धारण गर्ने गरेको छु । यसबाट दैनिक ३ हजारदेखि १० हजार रुपैयाँसम्म आम्दानी हुन्छ ।
अमृत अधिकारी
कारोबार दैनिक  

Saturday, February 12, 2011

लुम्बिनीका पुरातात्त्विक सम्पदा संरक्षणको पहल

भैरहवा, २८ माघ : भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा रहेका प्राचीन तथा पुरातात्त्विक वस्तुको संरक्षणका लागि पहल सुरु गरिएको छ । लुम्बिनीमा रहेको मायादेवीको प्राचीन मूर्ति, अशोक स्तम्भ र मार्कर स्टोनमा जैविक तथा रासायनिक रोग देखिएकाले त्यसको वैज्ञानिक उपचार र संरक्षणको प्रयास गरिएको लुम्बिनी विकास कोषका पुरातत्त्वविद् वसन्त बिडारीले नयाँ पत्रिकालाई बताए ।
 उनका अनुसार नेपाल सरकार, पुरातत्त्व विभाग तथा युनेस्कोको संयुक्त प्रयासमा ऐतिहासिक वस्तुहरूको संरक्षणका लागि पहल थालिएको हो । यसका लागि अन्तर्राष्ट्रिय स्तरका पुरातत्त्वविज्ञ डा. क्यास्किनो मुसीसहितको विषेशज्ञ टोलीले अनुसन्धान गर्नेछ । टोलीले दुई वर्ष ६ महिनाको समयमा लुम्बिनी विकास कोष, पुरातत्त्व विभागका कर्मचारीलाई ऐतिहासिक तथा प्राचीन वस्तुहरूको संरक्षण र देखिएका समस्या समाधान गर्ने उपाय सिकाउने पुरातत्त्वविज्ञ क्यास्किनो मुसीले बताए । लुम्बिनीमा रहेका अशोक स्तम्भ, मार्कर स्टोन र मायादेवीको मूर्तिमा ढुसी, लेउ र अन्य खालका रासायनिक रोग देखिएको उनले जानकारी दिए ।
मुसीका अनुसार पानी, दूध तथा फूल र अक्षता चढाउँदा अशोक स्तम्भको रूपमा परिवर्तन आउनुका साथै खिइएको र अशोक स्तम्भमा भएका शिलालेखसमेत मेटिने अवस्थामा छन् । 'हामीले अहिले समस्या यही हो भन्न सक्दैनौँ । धेरै प्रकारका समस्या हुन सक्छन्,' मुसीले भने ।
लुम्बिनी विकास कोषका पुरातत्त्वविद् वसन्त बिडारीले अहिलेकै अवस्था रहिरहने हो भने आउँदो एक सय वर्षपछि शिलालेखमा भएका अक्षरहरू हराएर जानसक्ने बताए । विभिन्न रसायन तथा स्प्रेहरूको प्रयोग गरी सफाइ गर्ने र सामान्य अवस्थामा शिलालेख नबिग्रने खालको बनाउने योजना रहेको बिडारी बताउँछन् ।
 त्यसैगरी प्राचीन मायादेवीको मूर्तिमा लेउ लागेर हरियो भएको छ । 'पहिले जुन चमक र आकर्षणयुक्त थियो, त्यो अहिले छैन । चमक र आकर्षण हराउनुमा जैविक तथा रासायनिक रोगहरूकै कारण हो,' मुसीले भने । त्यसैगरी मार्कर स्टोनमा पनि ढुसीको संक्रमण र अन्य खालका समस्या देखिएको बताउँदै उनले त्यसको वैज्ञानिक अध्ययनपछि मात्र भन्न सकिने बताए ।
आवश्यक परे लुम्बिनीमा रहेका मार्कर स्टोन र मायादेवीको मूर्तिलाई अध्ययनका लागि अन्तर्राष्ट्रिय प्रयोगशालामा समेत लैजान सकिने उनको भनाइ छ । 'हामी कहिल्यै रोगले नभेट्टाउने गरी संरक्षण गर्ने प्रयासमा छौँ । समस्याको समाधान निकाल्नका लागि वैज्ञानिक खोज र अनुसन्धान जारी रहनेछ,' उनले भने ।
प्राचीन तथा ऐतिहासिक वस्तुहरूमा देखिएको समस्या समाधानका लागि अध्ययन टोलीले काम थाल्नेछ । सो अन्तराष्ट्रिय विज्ञसहितको टोलीले पहिलो चरणमा पुरातत्त्व विभाग र लुम्बिनी विकास कोषका कर्मचारीलाई वैज्ञानिक अनुसन्धान तथा संरक्षणका लागि तालिम दिनेछ भने दोस्रो चरणमा ऐतिहासिक वस्तुहरूमा देखिएका समस्या र त्यसको समाधानका लागि वैज्ञानिक तरिकाले काम गर्नेछ ।
यसअघि अन्तर्राष्ट्रिय पुरातत्त्वविद् रोबिन कोनिहमसहितको टोलीले मायादेवी मन्दिरमा रहेका प्राचीन वस्तुहरूको अध्ययन गरेको थियो । कोषका पुरातत्त्वविद् बिडारीका भनाइमा हाल मायादेवी मन्दिर भएको ठाउँमा बुद्ध जन्मिनुभन्दा अघिको अवस्था के थियो ? त्यहाँ मानिसको बसोबास थियो कि थिएन भन्ने जस्ता कुराहरू पत्ता लगाउनका लागि उत्खनन् गरिएको हो ।
त्यसका लागि कोनिहमले मायादेवी मन्दिरमा रहेको इँटाका साथै त्यहाँ रहेको माटोलाई परीक्षणका लागि लगिएको छ । 'परीक्षणको रिर्पोट नआएसम्म केही भन्न सकिने अवस्था छैन,' बिडारीले भने ।

Saturday, January 22, 2011

लुम्बिनीमा थ्रिजी मोबाइल सञ्चालन

नेपाल टेलिकमले लुम्बिनीमा बुधबारदेखि थ्रिजी मोबाइल सेवा सञ्चालन गरेको छ । टेलिकमको पश्चिमाञ्चल क्षेत्रीय कार्यालय भैरहवाले थ्रिजी फोन सञ्चालनका लागि आवश्यक सम्पूर्ण उपकरण जडान गरेपछि सेवा सुरु भएको हो ।
अन्तर्राष्ट्रिय महत्व बोकेको पर्यटकीयस्थल लुम्बिनीमा विदेशी पर्यटकको बाक्लो चहलपहल हुने भएकाले थ्रिजी सेवा सुरु गरिएको टेलिकमले जनाएको छ । “यस क्षेत्रमा भारतीय र स्वदेशी पर्यटकको अत्यधिक आगमन हुने भएकाले यो सेवा सुरु गरेका हौं,” क्षेत्रीय निर्देशनालयका निर्देशक बाबुकाजी शाक्यले भने, “यसले नेपाल पर्यटन वर्षमा लुम्बिनी आउने सबै पर्यटकलाई सेवा दिनेछ ।”
टेलिकमले लुम्बिनीमा व्यावसायिक रूपमा भने थ्रिजी सुरु गरेको छैन । भ्रमणमा आउने पर्यटकलाई लक्षित गरेर मात्र सेवा शुभारम्भ गरिएको कार्यालयले जनाएको छ । थ्रिजी सिम पनि तत्काल वितरण नहुने शाक्यले बताए । “छिट्टै सिम वितरण गर्ने योजना छ तर समय तोक्न सकिन्न,” उनले भने । थ्रिजी सेवा लिइरहेका पर्यटकले भने यो सेवा पाउनेछन् ।
प्रारम्भमा मायादेवी मन्दिरको सेरोफेरोमा बीटीएस र अन्य उपकरण जडान गरी सेवा सञ्चालन गरिएको र छिट्टै अर्को स्थानमा थ्रिजीका आवश्यक उपकरण र बीटीएस जडान गरिने शाक्यले बताए । थ्रिजी सेवा सञ्चालन भएपछि पर्यटकलाई थप सुविधा हुने र लुम्बिनीको प्रचार–प्रसारमा सहयोगी हुने लुम्बिनी विकास कोषका सूचना अधिकृत हरि राईले बताए ।
टेलिकमले छिट्टै पूर्वाधार खडा गरी भैरहवा र बुटवलमा समेत यो सेवा सञ्चालनको तयारी गरिरहेको जनाएको छ । थ्रिजीमा उच्च गतिको इन्टरनेट हुने भएकाले टेलिभिजन हेर्ने, भिडियो तथा फोटो पठाउने, फेस टु फेस कुराकानी गर्नेलगायतका धेरै सुविधा हुन्छन् । यसअघि टेलिकमले काठमाडौं उपत्यका र पोखरामा यो सेवा सुरु गरिसकेको छ ।

Wednesday, January 19, 2011

चौथो क्यान इन्फोटेक लुम्बिनी

कम्प्युटर एशोसिएशन अफ नेपाल लुम्बिनी (क्यान लुम्बिनी) को आयोजनामा आगामी माघ ६ देखि ९ गतेसम्म बुटवलमा सूचना प्रविधिसम्बन्धी प्रदर्शनी क्यान  इन्फोटेक लुम्बिनी हुने भएको छ । बुटवलको हाटबजारस्थित बालमन्दिरमा हुने चौथो इन्फोटेकमा राष्ट्रिय तथा अन्तराष्ट्रिय कम्पनीका १ सय १६ स्टल सहभागी हुने तथा  ३ लाख दर्शकले अवलोकन र ५ करोडको आर्थिक कारोबार गर्ने लक्ष्य राखेको क्यान लुम्बिनीले जनाएको छ ।

इन्फोटेकमा जापान, कोरिया, भारत, जर्मनी आदि देशमा निर्मित कम्प्युटर, ल्यापटप आदि सूचना प्रविधिसँग सम्बन्धित सामानहरू २० देखि ४० प्रतिशत कम मूल्यमा  उपलब्ध गराउने आयोजकहरूको दाबी छ । गुणस्तरीय सामानहरू एउटै थलोमा उपलब्ध गराएर बजार मूल्यभन्दा सहुलियत मूल्यमा बिक्री गर्ने र विश्वमा विकसित  सूचना-प्रविधिको जानकारी गराउने उद्देश्यले इन्फोटेकलाई निरन्तरता दिन लागिएको अध्यक्ष प्रकाश रानाले साप्ताहिकलाई बताए । ४ हजार ५ सय रुपैयाँको ल्यापटप  विशेष आकर्षण हुने इन्फोटेकमा आईसीटी कन्फरेन्सअन्तर्गत भिलेज कनेक्टिभिटी, डिजिटल सिक्नेचरलगायत नयाँ प्रविधिहरूका सम्बन्धमा गोष्ठी एवं सेमिनारसमेत सम्पन्न गरिनेछ ।

Friday, January 7, 2011

बुटवल, सकियो औद्योगिक मेलाको रमाइलो


रामनगरस्थित बुटवल मण्डपमा १२ दिनसम्म चलेको औद्योगिक व्यापार मेला गत सोमबार सम्पन्न भएको छ । पुस ९ गतेदेखि दिनहुँ राष्ट्रिय कलाकारको प्रस्तुति  एवं विविध सांस्कृतिक कार्यक्रमले मेलालाई रमाइलो बनाएको थियो । दर्शकलाई मनोरञ्जन प्रदान गर्न लोकदोहोरी, आधुनिक, पप एवं हास्यविधाका झन्डै ४० जना चर्चित  कलाकारको मेलाको सुरुदेखि अन्त्यसम्म लर्को लागेको थियो ।

मेलामा लोकदोहोरीका राजु परियार, बद्री पंगेनी, पुरुषोत्तम न्यौपाने, कृष्ण देवकोटा, प्रजापति पराजुली, मञ्जु  पौडेल, शीला आले, रमेश बीजी, नारायण रायमाझी, दुर्गा रायमाझी, मन्जु महत, इन्द्र जीसी, कोमल ओली, निशा सुनार, शर्मिला गुरुङ, नवीन पौडेल, पार्वती जीसी एवं  आधुनिकतर्फ रेश्मा सुनुवार, हेमन्त शर्मा, इन्द्र जीसी, रीता थापा, रेनुका केसी, ज्योति मगर आदि कलाकारले पर्याप्त मनोरञ्जन प्रदान गर्दै सबैलाई छमछमी नचाए । रो इला गायक शिरीष देवकोटाको भजन शैलीको लोकभाकाले धेरैको वाहवाही पायो ।


आधुनिक गायक तिलकबम मल्ल, शिव परियार, प्रमोद खरेल रूपक डोटेल, हेमन्त शर्मा, मल्लिका कार्कीले पनि सुगम संगीतका पारखीहरूको मन जिते । पप गायिका रे श्मा सुनुवार, सिने गुरुङ, नलिना चित्रकार, श्रीया सोताङले युवापुस्तालाई उफारे भने हास्यकलाकार मनोज गजुरेल, जितु नेपाल, गोपाल नेपाल तथा शिवहरि नेपाल, दे वीराम पराजुलीले राजनीतिक दलका नेता एवं समसामयिक विषयमा व्यंग्य प्रहार गर्दै दर्शकलाई हँसाए । आफूलाई मन पर्ने एकसे एक राष्ट्रिय स्तरमा चर्चित कलाकारसँगै  गाउन, नाच्न र रमाउन बुटवलवासी मात्र नभै भैरहवा, कपिलवस्तु, नवलपरासी, गुल्मी र स्याङ्जासम्मका संगीतपारखी बुटवल मण्डपमा ओइरिएका थिए । आफूलाई  मनपर्ने कलाकारले मञ्चमा गीत गाउँदा दर्शक दीर्घामा नाच्नेहरूको होडबाजी नै चलेको दृश्य रोमाञ्चक थियो ।


राष्ट्रिय कलाकारको प्रस्तुतिबाहेक देशका विभिन्न ठाउँबाट आएका १४ टोलीबीच विभिन्न भाखामा भएको दोहोरी गीतको प्रतियोगिताले पनि दर्शकलाई मेला अवधिभर  मनोरञ्जन प्रदान गर्‍यो । मेलामा रूपन्देहीका १८ विद्यालयबीच गराइएको विविध जनजातिको संस्कृति झल्कने लोकनृत्य प्रतियोगिता, सहिमा श्रेष्ठको गायन, नीलहीरा  समाजसँग आबद्ध तेस्रोलिंगी सन्तु पुन, अवान्तिका घर्ती आदिको नृत्य एवं स्थानीय पप ब्यान्डको प्रस्तुतिले पनि दर्शकलाई मनोरञ्जन दियो । मेलामा चन्द्रमाको ढुंगा,  लुम्बिनीको शान्तिदिप, राष्ट्रिय संग्रहालयका पुरातात्विक वस्तुहरू, पशुपतिनाथको नमुना मन्दिर, बालउद्यान पनि आकर्षणका केन्द्र बनेका थिए । 'समुन्नत राष्ट्रिय अथर् तन्त्रको आधारः पर्यटन, कृषि, उद्योग एवं ब्यापार' नाराका साथ बुटवल उद्योग वाणिज्य संघ, नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल चेम्बर अफ कमर्सको संयुक्त  आयोजनामा सञ्चालित मेलामा राष्ट्रिय अन्तराष्ट्रिय औद्योगिक उत्पादन, सुचना प्रविधि, वैकल्पिक ऊर्जासम्बन्धी नयाँ प्रविधि, कृषि, हस्तकला,रेस्टुरेन्ट, वित्तिय संस्था, अटो  आदिका ३ सय ५० वटा स्टल राखिएका थिए । मेलामा ४ लाख दर्शकले अवलोकन गरेका र १० करोडभन्दा बढीको कारोबार भएको आयोजक बुटवल उद्योग वाणिज्य  संघका अध्यक्ष शंकर श्रेष्ठले बताए l
टोपराज शर्मा   

Sunday, January 2, 2011

मुक्तकमा पहिलो विद्याबारिधि मुरारी लाई

बुटवल मणिग्राम शब्द सृजना कुञ्ज निवासी श्री मुरारी पराजुलीलाई नेपाली मुक्तकका प्रवृत्तिहरु शीर्षकमा विद्यावारिधि उपाधि प्राप्त भएको छ । त्रिभुवन विश्वविद्यालय, मानविकी तथा सामाजिक शास्त्र सङ्कायअन्तर्गत नेपाली विषयबाट उहाँलाई सो उपाधि प्राप्त भएको हो ।
वि.सं. २०२३ मा पाल्पा जिल्लाको तानसेन नगरपालिकामा जन्मिनु भएका पराजुलीले नेपाली मुक्तक विधामा पहिलोपल्ट विद्यावारिधि प्राप्त गर्ने श्रेय प्राप्त गर्नु भएको छ । पराजुली नेपाली साहित्यका क्षेत्रमा समकालीन युवा पुस्ताबीच विशिष्ट शैलीका कविता, लेख र समालोचना विधाबाट बढी परिचित हुनुहुन्छ ।
उहाँका सृजनाका स्वरहरू -सहप्रकाशित कवितासङ्ग्रह, २०४५), आगो पालेका पेट र शीत ओढेका बस्तीहरू -सहप्रकाशित कवितासङ्ग्रह, २०४६), हाँसेर उसका ओठले -कवितासङ्ग्रह, २०६१) र लोकतन्त्रको शङ्खनाद -सहप्रकाशित कवितासङ्ग्रह, २०६२) जस्ता कविताकृति र सयौँ फुटकर लेख तथा समालोचना प्रकाशित छन् ।
उहाँले सिर्जनशील साहित्यिक समाज सम्मान -२०६४), हरिकला-गुणाकर दायित्व रचना पुरस्कार -२०६५), रौतहट साहित्य सञ्जाल सम्मान -२०६५), टेकध्वज खाती-लक्ष्मीदेवी खाती साहित्य सेवा पुरस्कार -२०६६) जस्ता सम्मान/पुरस्कार प्राप्त गरिसक्नु भएको छ । उहाँ प्रगतिशील लेखक सङ्घ, रूपन्देहीका अध्यक्ष पनि हुनुहुन्छ ।